इथानोल खरिद प्रक्रियाका लागि सूचीकरणको आह्वान
काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नीतिलाई कार्यान्वयनमा लैजाने कार्य अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गत फागुन २८ मा नेपाल राजपत्रमा प्रकाशित ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२’ अनुसार नेपाल आयल निगमले इथानोल खरिद प्रक्रिया सुरु गर्ने भएको हो ।
कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने पेट्रोलमा मिसाउनयोग्य इथानोल राजपत्रमा उल्लेख भए अनुसार गुणस्तर र विधि अनुसार खरिद गर्ने मन्त्रालयले जनाएको छ । उत्पादन तथा आपूर्ति गर्न इच्छुुक उत्पादकले आयल निगममा निवेदन दर्ता गर्न सक्ने मन्त्रालयले सूचनामा जनाएको हो ।
मन्त्रालयको सूचना अनुसार इथानोल उत्पादनका लागि विभिन्न जैविक तथा कृषि स्रोतका कच्चा पदार्थ प्रयोग गर्न सकिने छ । जसमा चिनी उद्योगबाट प्राप्त हुने खुदो (मोलासेस), नेपियर घाँस, खेर जाने कृषि तथा वनजन्य जैविक पदार्थ (बायोमास), पराल, मकैको ढोड, गहुँको छ्वाली जस्ता कृषि अवशेष, खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, सिमल तरुल (कास्साभा) तथा किण्वन (फर्मेन्टेसन) प्रक्रियामा आवश्यक मर्चा (यिस्ट) र अन्य रसायन समावेश छन् ।
यस्तै खाद्यान्नका लागि प्रयोग गर्न नमिल्ने सडेगलेका अन्न, पिना, काठजन्य पतकर र अन्य आवश्यक रसायन रहेका छन् । मानिसले उपभोग गर्ने (खाद्यान्नका रूपमा प्रयोग हुने) अन्नलाई भने इथानोल बनाउन प्रयोग गर्न नपाइने आदेशमा उल्लेख छ ।
पेट्रोलमा इथानोल मिश्रणको प्रयोगलाई वैकल्पिक ऊर्जा प्रवर्धन, पेट्रोलियम पदार्थको आयात न्यूनीकरण तथा वातावरणीय प्रदूषण नियन्त्रणका लागि सहयोग पुग्ने बताइएको छ ।
“पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेशमार्फत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग प्रवर्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोत उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य छ ।
आदेश अनुसार आयल निगमले उपलब्धता अनुसार प्रतिलिटर पेट्रोलमा अधिकतम १० प्रतिशतसम्म इथानोल मिश्रण गर्नुपर्ने छ । आदेशमा आवश्यकता अनुसार मन्त्रीपरिषद्ले यो अनुपात घटबढ गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
यस्तै उद्योगले प्रचलित कानुन अनुसार तोकिएका कच्चापदार्थबाट मात्र उत्पादन गर्नुपर्ने छ र उत्पादन गरिएको इथानोल निगमलाई मात्र बिक्री गर्नुपर्ने छ । निगमले खरिद गर्नुअघि प्रत्येक इथानोल गुणस्तर परीक्षण गर्ने छ भने उत्पादक उद्योग आफैँले पनि गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला स्थापना गर्नुपर्ने दायित्व तोकिएको छ ।
गुणस्तरहीन इथानोल खरिदबिक्री निरुत्साहित गरिएको छ । साथै इथानोल एक ज्वलनशील र संवेदनशील पदार्थ भएकाले यसको उत्पादन, भण्डारण, ढुवानी र मिश्रणका लागि आवश्यक पर्ने सुरक्षा मापदण्ड मन्त्रालयले छुट्टै बनाएर लागु गर्ने छ ।
























