आइएमई लाइफ इन्स्योरेन्सको ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न, ४१ जना अभिकर्ता सम्मानित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स अन्तर्गतको ब्ल्याक डायमण्ड ग्रुपद्वारा आयोजित ‘ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६’ सम्पन्न भएको छ।
काठमाडौंमा आयोजित विशेष समारोहबीच सम्पन्न कार्यक्रममा ब्ल्याक डायमण्ड ग्रुपका अध्यक्ष नगेन्द्र श्रेष्ठको अध्यक्षता रहेको थियो भने आइएमई लाईफका सीईओ पवन कुमार खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले छोटो समयमै आइएमई लाइफले उल्लेखनीय प्रगति गरेको बताए। कम्पनीले विभिन्न बीमा पोलिसी तथा स्किमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले अभिकर्ताहरूलाई तालिममार्फत दक्ष र व्यवसायिक बन्न आग्रह समेत गरे।
ब्ल्याक डायमण्ड ग्रुपका अध्यक्ष श्रेष्ठले बीमा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर तथा नेतृत्वकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए। पछिल्लो समय कम्पनीले सेवा विस्तारसँगै बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुँदै गएको उनको भनाइ थियो।
“ब्ल्याक डायमण्ड लिडरसिप अवार्ड २०२६” मार्फत ४१ जना अभिकर्ता सम्मानित भएका थिए। साथै “एमडीआरटी सम्मान २०२६” बाट दिलमाया राई सम्मानित भएकी छन्। कार्यक्रममा उत्कृष्ट ६ शाखाका प्रमुखहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सिक्किमबाट आएका भास्कर राई तथा आइएमई लाइफका बागमती प्रमुख सिपि भट्टराईले एजेन्सी करियर, नेतृत्व विकास, व्यवसाय विस्तार, टीम व्यवस्थापन तथा बीमा क्षेत्रको सम्भावनाबारे प्रेरणादायी अभिमुखीकरण तालीम दिएका थिए।
ब्ल्याक डायमण्ड ग्रुपले बीमा क्षेत्रमा नयाँ नेतृत्व उत्पादन, अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा व्यवसायिक दक्षता विकासका लागि विभिन्न तालीम, मोटिभेशनल सेसन तथा सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पछिल्लो समय समूहले देशका विभिन्न स्थानमा नेतृत्व तथा व्यवसाय विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ। कार्यक्रममा आइएमई लाइफका उच्च पदाधिकारी, विभिन्न शाखाका प्रतिनिधि, सफल अभिकर्ता तथा बीमा क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा राम प्रसाद राईले स्वागत मन्तव्य राखेका थिए।

























