stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रामजन्म विवादः एउटाको तर्कमा अर्काको दावी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

–हरि मञ्जुश्री

रामायणका रामको जन्मभूमि नेपाल हो कि होइन भन्ने विवाद अचेल नेपाल र भारत दुवै देशमा भइरहेको छ । यससँग सम्बन्धित विषयहरूमा सामाजिक सन्जालमा विभिन्न तथ्यहरू मैले प्रस्तुत गरिरहेको हुनाले मेरा धेरैजना मित्रहरूले रामजन्म विवादका बारेमा केही लेखिदिन मलाई आग्रह गरिरहनु भएको छ ।

तसर्थ यसैसँग सम्बन्धित रहेर म आफ्ना केही कुराहरू प्रस्तुत गर्न चाहन्छु । रामको जन्म नेपालमा भएको हो कि होइन, त्यसको पुष्टि भएको छ कि छैन, राम नेपाली भएको पुष्टि गर्ने हिन्दूशास्त्रीय, भाषा शास्त्रीय, समाज शास्त्रीय, भौगोलिक र ऐतिहासिक आधारमा प्रामाणिक तथ्यहरू पर्याप्त छन् कि छैनन्, त्यसका विषयमा अहिले बहस गर्नुपर्ने हो कि होइन, बहस गर्दा कुन तहबाट कसरी गर्नुपर्ने हो, बहसबाट पर्न सक्ने असरहरू के–के हुन्, राम नेपाली भएको प्रमाणित भयो अथवा भएन भने त्यसले धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रूपबाट के–के असरहरू पार्नेछ, दुई देशका बीचको सम्बन्ध कस्तो हुनेछ, यस्ता कुराहरू सम्बन्धित क्षेत्रका विज्ञहरूले जान्ने कुरा हो । यी कुराहरूबाट अनभिज्ञ रहेकाले म केही भन्न सक्तिनँ ।

मैले भन्नैपर्ने कुराचाहिँ राम नेपाली हुन् भन्ने विषयमा दिइएका तर्कहरूसँग सम्बन्धित छ । रामको जन्म नेपालमा भएको हो भन्ने विषयको अनुसन्धान दुई वर्ष अघिदेखि भइरहेको छ भनेर गरिएको प्रचार गलत हो र रामको जन्म नेपालमा भएको भनी अचेल दिइएका तर्कहरू पनि धेरै वर्षपहिले मेरो लेखमा छापिइसकेका छन् ।

ती तर्कहरू पनि मैले उठाएका चाहिँ होइनन् । रामको जन्मभूमि नेपाल हो भन्ने कुराको उठान २०२० सालतिर राजदरबारका एकजना जनसम्पर्क अधिकृतबाट भएको रहेछ ।

त्यो कुरा फैलिँदै गएर उहाँलाई कतैबाट धम्की दिइएपछि उहाँले त्यसलाई प्रचार गर्न रोक्नुभएको रहेछ । उहाँले गुठी संस्थानको अध्यक्ष बनिसक्नु भएका मेरा एकजना अत्यन्त आदरणीय व्यक्तिसँग २०४२ सालतिर गर्नु भएको यस सम्बन्धी वार्तालाप नजिकै बसेर सुन्ने क्रममा मैले त्यस कुराको जानकारी पाएको थिएँ ।

त्यतिखेर उहाँले उठाउनुभएका तर्कहरूलाई नै आफ्नो लेखमा समावेश गरेर मैले उक्त लेख प्रकाशन गराएको थिएँ । राम नेपाली हुन् भन्ने कुराको उठान गर्ने व्यक्तिले राजदरबारको जागिरबाट अवकाश पाएपछि छन्दोबद्ध एउटा काव्य लेख्नुभयो र त्यसभित्र पादटिप्पणीका रूपमा राम नेपाली हुन् भन्ने कुराको शास्त्रीय प्रमाण दिन सकिने धेरै सन्दर्भहरू उल्लेख गर्नुभयो ।

ती सन्दर्भहरूलाई आधार बनाएर अनुसन्धान गर्दै जाँदा राम मात्रै होइन, हिन्दूशास्त्रीय ग्रन्थहरूमा भएका धेरै पात्र र घटनाहरू सुगौली सन्धिभन्दा पछिको नेपालको भौगोलिक सीमाभित्रैका भएको पुष्टि हुन सक्छ, त्यसले नेपाल र भारतको सम्पर्क र सम्बन्धमा धेरै फेरबदल आउन सक्छ र इतिहासको पुनर्लेखन गर्नुपर्ने र मान्यतामा नै परिवर्तन आउनुपर्ने हुन सक्छ ।

त्यसैले नेपालको भूमिमा रामको जन्म भएको यथेष्ट प्रमाणहरू प्रस्तुत गर्दागर्दै पनि पहिले आएको धम्की सम्झेर आफ्नो काव्यमा राम नेपाली नै हुन् भनेर ठोकुवा नगरी उहाँले काव्यलाई टुङ्ग्याउनुभएको छ ।

उहाँको देहावसान २०४३ सालमा भएपछि मात्रै दुईजनाको मन्तव्य सहित त्यो काव्य छापियो र उपहार स्वरूप २०४६ सालमा मेरो हातमा परयो । पुराना प्रसङ्गहरूको खोजतलास गर्ने क्रममा मलाई पनि त्यस काव्यले ठूलो आधार दिएको छ ।

उहाँको अनुसन्धानपछिको निष्कर्ष तर्कसङ्गत र प्रामाणिक छ कि छैन भन्ने विषयमा बहस गर्न सकिन्छ, उहाँले प्रस्तुत गर्नुभएका निष्कर्षहरूलाई अप्रामाणिक भनेर प्रमाणित गर्न पनि सकिएला । तर उहाँले अनुसन्धान गरी प्रस्तुत गर्नुभएका कुरालाई आफ्नो हो भनेर दावी गर्दा उहाँको योगदान, परिश्रम, इतिहास र अनुसन्धान माथि अन्याय हुन सक्छ । त्यसैले राम नेपालमा जन्मेका हुन् अथवा होइनन् भन्ने पक्षका विद्वानहरूले तर्क र प्रमाण दिनुपर्दा उहाँले अथवा अरू कसैले आफ्नो पुस्तक या लेखमा दिएका तर्कहरूलाई उहाँहरूकै सन्दर्भस्रोत भनेर अथवा अरूबाट तथ्यहरू लिइएकोमा उनीहरूकै स्रोत हो भनेर तथा तीभन्दा फरक कुराहरूलाई मात्रै आफ्नो अनुसन्धान हो भनेर उल्लेख गरिदिन अनुरोध छ ।

अनुसन्धानका क्षेत्रमा आफ्नो अलग्गै इतिहास बनाउने अधिकार हरेक व्यक्तिलाई छ । तर एकथरिको तथ्य र इतिहास खोतल्नका लागि अरूको मिहिनेतलाई आफ्नो भन्ने दावी गरेर अर्काथरिको तथ्य र इतिहासलाई मेट्ने प्रयास नगर्नु नै उत्तम अनुसन्धाताको लक्षण हो ।

यी कुराहरूमा सबैको दृष्टि पुगोस्, कसैमाथि अन्याय नहोस् र हरेक अनुसन्धाताबाट अनुसन्धाताको धर्म निर्वाह गरियोस् भनेर मैले आफ्ना कुराहरू राख्ने प्रयास गरेको हुँ ।

prabhu mahalaxmi
kumari