stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न मन्त्रीका सल्लाहकारदेखि पूर्व सचिवसम्मको आवेदन

महिलाले देखाएनन् चासो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि २५ जनाको आवेदन परेको छ । दरखास्त दिने अन्तिम दिन आइतबारसम्म २५ जनाले आवेदन दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार अध्यक्षका लागि आवेदन दिनेमा मैनेजर प्रसाद साह कानु, रोहित रौनियार, देवनारायण यादव, सुरेश कुमार कार्की, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी, माधव प्रसाद रेग्मी, सागरनाथ उपाध्याय, डोलेन्द्र प्रसाद शर्मा, सुशील ओझा, रामदेव यादव लगायत रहेका छन् ।

यसैगरी नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट, लक्ष्मी प्रसाद पण्डित, अनिल झा, दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, भुपेन्द्र भण्डारी, पङ्कज कुमार दास, गोकर्ण प्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमल प्रसाद खनालले प्राधिकरणको अध्यक्ष बन्नका लागि आवेदन दिएका सुवेदीले जानकारी दिए ।

मन्त्रालयले माघ १४ मा अध्यक्ष पदका लागि आवेदन खुलाएको थियो । मन्त्रीका सल्लाहकारदेखि पूर्व सचिवसम्मले आवेदन दिएका छन् । आवेदन दिनेमा सबै पुरुष रहेका छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि महिला उमेद्वारको आवेदन परेको छैन ।

अध्यक्षको दौडमा प्राधिकरणमै सदस्य रहेका गोकर्ण सिटौला, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका सूचना प्रविधि सल्लाहकार भुपेन्द्र भण्डारी, नेपाल सरकारका पूर्वसचिव दामोदर रेग्मी, साझाका पूर्वमहाप्रबन्धक डोलेन्द्र प्रसाद शर्मा लगायत रहेका छन् ।

रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न २४ पुसमा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा समिति गठन भएको छ । अब उक्त समिति समक्ष आवेदकहरूले व्यावसायिक कार्य योजनासहितको प्रस्तुतीकरण गर्ने छन् ।

समितिले आवेदकले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नयाँ अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नेछ । सोही मध्येबाट मन्त्रिपरिषद्ले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्न सचिव सुवेदीको संयोजकत्वमा समिति गठन भएको थियो ।

खनालमाथि प्राधिकरणले गर्ने विभिन्न खरिद तथा उपकरण जडानमा अनियमितता गरेको आरोपमा मन्त्रालय, अख्तियार र संसदीय समितिले छानबिन गरिरहेका छन् ।

एमडीएमएस, टेरामक्सलगायतका अर्बौँका परियोजनामा भ्रष्टाचार गरेकोमा छानबिन भइरहेको बेला उनले राजीनामा दिएका हुन् । ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्ष भएका खनालको कार्यकाल आगामी साउन पहिलो सातासम्म थियो । प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोर्ड सदस्य नवराज अधिकारीलाई दिइएको छ ।

IME Lifesidebar
kumari