साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा
उपाधि दाबेदार मध्येको एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा किर्गिस्तानलाई २–० ले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो ।
खेलको नवौं मिनेटमा नै अइजार अक्माटोभले रातो कार्ड पाएपछि किर्गिस्तान दश जनामा सीमित भएको थियो ।
त्यसको फाइदा उठाउँदै ३५औं मिनेटमा साउदीले अग्रता लियो । मोहम्मद कान्नोले गोल गर्दै बलियो मानिएको साउदीले खेलमा अग्रता लियो । ५२औं मिनेटमा किमी मर्कले पनि रातो कार्ड पाएपछि किर्गिस्तान नौं जनामा सीमित भएको थियो ।
तर साउदीले दुई जनाको अग्रता भएपनि दोस्रो गोल गर्दा भने ८४औं मिनेटसम्म कुर्नु परेको थियो । फैसल अलघाम्दीले गोल गर्दै साउदीको जीत सुनिश्चित गरेका थिए ।





















