stcnepal long ad
ime life insurance
global ime bank long

बर्खा लागेपछि सडक जथाभावी भत्काइँदै, बनाइँदै

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । गुहेश्वरीको प्रवेशद्वार गौरीघाटमा बर्सेनिजसो खानेपानीको पाइप लिक भएर सडक हिलाम्मे हुन्छ । यहाँ वर्षैपिच्छे सडक भत्काएर पाइप टालिरहनुपर्छ । पानी चुहिएर सडक बिग्रिएपछि केही समयअघि यो खण्डमा ढलान गरियो । पानी चुहिन भने छाडेको छैन ।

‘धारामा राम्रोसँग पानि आउँदैन तर सडक जलमग्न हुन्छन्,’ गौरीघाटस्थित गुहयेश्वरी विनायक युवा क्लबका सचिव परमेश्वर पौडेलले भने, दिगो रूपमा पाइप व्यवस्थापन नगर्दा बर्सेनि समस्या दोहोरिने गरेको छ ।’

उनका अनुसार ढलान गरिएको सडकमा पानी लिक भएपछि भत्काएर टालिएको हो । मित्रपार्कमा पनि समस्या उस्तै छ । यो खण्डमा बर्खामा प्राय: पानी लिक हुन्छ । टाल्ने त गरिन्छ । तर दिगो छैन । ‘कहाँकहाँ खानेपानीका पाइप भूमिगत छन् भन्नेबारे सम्बन्धित निकाय नै जानकार छैन,’ पौडेलले भने, ‘त्यसैले जहाँ पानी लिक हुन्छ, त्यहाँ सडक भत्काएर बजेट सक्नेबाहेक केही काम भएको छैन ।’ जबसम्म बजेट सक्ने गरी मात्र काम हुन्छ, तबसम्म यस्ता समस्या आइरहने उनले बताए ।

गौरीघाट, मित्रपार्क मात्र होइन, चाबहिल चोकमा पनि बर्सेनि यस्तै समस्या दोहोरिने गरेको छ । पानी लिक हुँदा सडक प्राय: जलमग्न हुन्छ । कालोपत्र गरेको सडकलाई खनेर टाल्ने गरिन्छ । अहिले बिजुलीका तार भूमिगत गर्ने भनेर सडक छेउमा खनिएको छ, यसले गर्दा सर्वसाधारणलाई फुटपाथमा हिँड्न सकस छ । पानी चुहिने समस्या उपत्यकाका प्राय: सबै ठाउँमा छ । यस्ता समस्या बर्खाअघि समाधान गरिँदैन ।

जब बर्खा लाग्छ, तब धमाधम सडक भत्काएर पाइप मर्मतको काम थालिन्छ । अहिले पनि असार लाग्नसाथ मर्मतको काम सुरु भएको छ । नयाँ कालोपत्रसमेत भत्काएर पाइप मर्मतको काम गरिँदै छ । बाँसबारी, लाजिम्पाट, तीनकुने, डिल्लीबजारको चारखाल, कीर्तिपुर, चाबहिललगायत क्षेत्रमा सडक भत्काएर खानेपानीका पाइप मर्मत गर्ने कामलाई यतिबेला तीव्र पारिएको छ । सडक विभागले बर्सेनिजस्तो लाखौं खर्चेर सडक मर्मत गर्छ । कालोपत्र गर्छ । नयाँ सडक बनाउँछ । तर त्यही सडक भत्काएर पानी लिक भएको भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप टाल्ने काम थाल्छ । असारअघि सडक विभाग बनाउन र त्यसपछि खानेपानी लिमिटेड सडक भत्काउन सक्रिय हुने गरेजस्तो देखिन्छ ।  आजकाे कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari