stcnepal long ad
ime life insurance
global ime bank long

भक्तपुरमा प्रहरीसहित तीनमा कोरोना पुष्टि

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरी सहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

उनले भने, “सञ्चार कक्षलाई सिल गरेका छौँ, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टिनमा राखेका छौँ, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौँ ।”

क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ ।

प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो ।

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

prabhu mahalaxmi
kumari