stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पसल कारबाहीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुस लगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले मङ्गलबार विमानस्थलका आठ वटा पसल र होटल तथा रेस्टुरेन्ट अनुगमन गर्दा बाहिरभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको हो ।

विमानस्थलमा रहेका ती पसलले विदेश जाने र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुनै वस्तु किन्नु प¥यो भने बाहिरभन्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए ।

कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो । विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । दसैँमा विदेशबाट आउने यात्रु झनै ती पसलबाट ठगिने गरेका छन् ।

वस्तु र सेवाका नाममा मनपरी मूल्य लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार विमानस्थलभित्र रहेका पसलमा बिक्री गरिने सामानको मूल्यबारेमा चासो राखेर मूल्य अनुचित भएको भने प्रश्न गरेपछि केन्द्रीय संयुक्त अनुगमन टोलीले मङ्गलबार सो क्षेत्रका पसलको अनुगमन गरेर कारबाही गरेको हो ।

विमानस्थलभित्र एक कप चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको थियो ।

विभागका बजार अनुगमन निर्देशक आनन्द पोखरेल नेतृत्वको टोलीले विमानस्थल परिसरका आठ वटा पसललाई अनुगमन गरेको र तीन वटालाई एक लाखदेखि दुई लाख रुपियाँसम्म जरिबाना गरेर एकै दिनमा चार लाख राजस्व सङ्कलन गरेको छ ।

विभागको अनुगमन टोलीले ढिलै भए पनि अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र सञ्चालित चिया तथा कफीलगायतका आठ वटा पसलको अनुगमन गरेर अनुचित मूल्य लिनेलाई जरिबाना गरेको छ ।

विभागका अनुसार विभागको अनुगमनका क्रममा अधिकांश विमानस्थलभित्रका पसलले अधिकतम मूल्यभन्दा बढी लिएको, आफ्नै गरेको वा गुणस्तर, परिणाम, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएको विभागका निर्देशक पोखरेलले जानकारी दिनुभयो ।

विमानस्थलभित्र रहेका आठ वटा पसलको अनुगमन गरिएकामा सबै एउटा न एउटा कारबाहीमा परेको उहाँको भनाइ छ । उहाँका अनुसार अनुगमन गरिएका आठ वटा पसल तथा होटलमध्ये चार वटालाई आवश्यक कागजात सहित बु्धबार नै विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । तीन वटालाई जरिबाना गरियो भने एउटा पसलमा म्याद नाघेका सामान रहेको भेटिएकाले नष्ट गरिएको छ ।

देशकै राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका पसलमा उपभोग्य म्याद सकिएर रिलेबलिङ गरेका सामान बिक्री गर्नु देशकै लागि लज्जास्पद भएको भन्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन बताउनुभयो ।

विमानस्थलमा सर्वसाधारण यात्रु ठगिएकाले त्यस क्षेत्रमा बेला बेलामा अनुुगमनको आवश्यकता औँल्याउनुभयो ।

विभागका महानिर्देशक तीर्थराज चिलवालले विमानस्थलमा रहेका किराना, चिया तथा कफी पसल र होटल तथा रेस्टुरेन्टमा केही न केही समस्या रहेको अनुगमनका क्रममा पाइएको बताउनुभयो ।

त्यस क्षेत्रमा रहेका अधिकांश पसलले तोकेको वा सामानमा उल्लेखित अधिकतम खुद्रा मूल्यभन्दा धेरै लिएकाले कालो बजारी ऐन अन्तर्गत मुद्दा चलाउने विषयमा पनि छलफल भएको उहाँको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari