भदौ महिनामा भित्रियो १ खर्ब १२ अर्ब रुपैयाँ रेमिटेन्स
अघिल्लो वर्ष भन्दा २२.१ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिना सम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) २२.१ % ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दुई महिनामा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ ।
भदौ महिनामा मात्रै १ खर्ब १२ अर्ब २३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । साउन महिनामा भने १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.८% ले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १७.७०% ले बढेर १ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ % ले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८.३५ ले घटेर ७४ हजार ४५५ जना पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८.३% ले घटेर ३२ हजार ४ जना कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.६५ ले बढेको थियो ।

























