stcnepal long ad
ime life insurance
global ime bank long

सार्वजनिक यातायात सञ्चानलनसम्बन्धी छलफल शुरु

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।

बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ । सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ ।

जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने-लिने कसरी गर्नेलगायतका विषय समावेश छ ।

थोरै सङ्ख्यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमितरुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ ।

उहाँले भन्नुभयो, “कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ ।” सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ ।

बन्दाबन्दी खुकुलो गरेर विभिन्न कार्यालय सञ्चालनमा आउँदा सार्वजनिक सवारी साधन पनि खुलाउनुपर्न सक्ने दबाब आएको महानिर्देशक हमालले बताउनुभयो । उहाँले भन्नुभयो, “अरु सेवा खुलिरहँदा त्यसको पूर्तिका लागि पनि यातायात खुलाउनुपर्छ ।”

बन्दाबन्दीका बीचमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा पनि सार्वजनिक यातायातका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

शुरुमा ठूला र साना कस्ता सवारी साधन वा कति सङ्ख्यामा कसरी सवारी साधन खुलाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

विभागले अहिले आवश्कतानुसार बैठक गरेर छलफल गरिरहेको उहाँले बताउनुभयो । भाडादरका विषयमा भने तत्काल भाडा बढाउन सकिने अवस्था नरहेको उहाँको भनाइ छ ।

यातायात व्यवसायीले भने सार्वजनिक यातायात सञ्चालन गर्नु पहिले सरकारले स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन् । लामो समयसम्म सवारी साधन थन्किएकाले त्यसको मर्मत गरेर सञ्चालनमा ल्याउनुपर्ने यातायात व्यवसायी महासङ्घका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताउनुभयो ।  रासस

prabhu mahalaxmi
kumari