सुन चाँदीको भाउ आजबाट सार्वजनिक हुने
आर्थिक सञ्जाल
काठमाडौं । आज आइतबारबाट सुन चाँदीको दर भाउ नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गर्ने भएको छ । लक डाउनका कारण यस अघि उद्योग व्यवसाय बन्द भएकाले सुन चाँदीको भाउ पनि तोकिएको थिएन ।
अब क्रमशः लक डाउन खुकुलो बनाउँदै जाने सरकारको नीति रहेको देखिन्छ । सोही अनुसार निश्चित समय पसल तथा उद्योग धन्दा खुल्ने क्रम सुरु भएकाले सुनको भाउ पनि तोक्न लागिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ति मार्फत जनाएको छ ।
यता, सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ मार्फत सुनको भन्सार दर बढाएको छ । भन्सार बढेसँगै सुनको मूल्य आकसिने अनुमान गरिएको छ ।
सरकारले यस अघि प्रति १० ग्राम सुनमा ६ हजार ५ सय रुपैयाँका दरले लाग्दै आएको भन्सार महशुल बजेटमा २ हजार रुपैयाँले बढाएर ८ हजार ५ सय रुपैयाँ पुर्याइएको छ ।
एक तोला सुनमा ११.६६४ ग्राम सुन हुन्छ । जस अनुसार, तोलामा सुनको भाउ अब २३ सय ३२ रुपैयाँले महँगिएको छ । यस्तै, चाँदीमा प्रतिकिलो ७५ हजार रुपैयाँ लाग्ने भन्सार महशुल १० हजारले बढाएर ८५ हजार रुपैयाँ पुर्याइएको छ ।























