Everest Bank
nabil bank
national life
stcnepal long ad

जहाज ढिलाइ र खाली उडनेमा निगमको चासो

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

नेपाल वायुसेवा निगमको जहाज ढिलो उड्छ, धेरै गुनासो सुनिन्छ । यस्तो गुनासो सुनिनु स्वाभाविकै हो । तर जहाज किन ढिलो उड्छ भन्ने कुरातिर पनि त्यस्तो गुनासो गर्नेहरूले ध्यान दिनुपर्ने हो कि !

पहिले मौसमी कठिनाइलाई बुझौँ । नेपालको भौगोलिक र मौसमी स्वरूपमा विभिन्नता र विषमता भएकाले विशेषतः वर्षाको समयमा उडान ढिलो हुने स्थिति सिर्जना हुन्छ । उडान सुरु गर्ने विमानस्थलमा खराब मौसम भइदिए सन्तुलन गडबडिन्छ ।

 

कहिलेकाहीँ मौसमको खराबीले गर्दा जहाजले निर्धारित मार्ग नै फेर्नुपर्ने स्थिति आइपर्छ, अनि त्यहाँको र अर्कातिरको उडानमा पनि ढिलाइ हुन जान्छ । एउटा उदाहरण नै लिऊँ । काठमाडौँबाट पोखरा दुवै ठाउ“मा राम्रो मौसम भएको रिपोर्ट प्राप्त भएको थियो ।

त्यसैका आधारमा जहाज उडाउने तयारी गरिएको थियो । तर अप्रत्याशित रूपले मौसम बिग्रन गयो । त्यस्तो बेलामा जहाज अन्यत्र ओर्लिएमा यात्रुलाई असुविधा हुने नै भयो । मौसम अनुकूल रहेको छ भन्ने रिपोर्ट पाएर काठमाडौँबाट उडान गर्न तयार भएको बेलामा काठमाडौँको मौसम अचानक खराब हुन सक्छ र जहाज उड्न नसक्ने त्यस्तो स्थितिमा कठिनाइ र असुविधा पर्न जान्छ ।

त्यस्तो बेलामा वायुसेवा आफ्नो सेवा उपलब्ध गराउन असमर्थ हुन्छ । तर जहाज कुरेर बसेका दुवै ठाउँका यात्रुहरूबाट वायुसेवाका कर्मचारीहरूले त्यस बेला तीतो आलोचना खपेर बस्नुपरेको हुन्छ । मौसम बिग्रेको अवस्थामा आन्तरिक उडानमा मात्र होइन, अन्तर्राष्ट्रिय उडानमा समेत बाधा पर्ने गर्छ ।

अर्को कठिनाइ प्राविधिक पक्षको छ । कठिन भूक्षेत्र र विविध मौसमको अवस्थाले गर्दा विमानको सञ्चालनमा सुरक्षाको उच्चस्तरीय व्यवस्था कायम राख्नु अत्यावश्यक हुन जान्छ । त्यसले गर्दा जहाज विमानस्थलमा ओर्लिदा तथा हवाई ग्राउन्डमा परिचालन गर्दा अझ बढी कठिनाइको सामना गर्नुपर्छ ।

काठमाडौँबाट हुने पहिलो उडान मौसम, प्राविधिक अथवा अन्य कारणहरूले ढिलाइ भएमा त्यसपछिका उडानहरू पनि स्वतः नियमित हुन सक्तैनन् । त्यसैले पुग्नुपर्ने निर्दिष्ट ठाउ“ वा बीचका ठाउँहरूमा जहाज ढिलो जानु आश्चर्य हुँदैन ।

अर्को कुरा, उडान सुरु हुने स्थान काठमाडौँबाटै कारणवश उडान ढिलो भइदिएको खण्डमा पुग्नुपर्ने तथा बिसौनी स्थलमा पनि समयमा जहाज पुग्न सक्तैन । यसबाट उडानहरूको पूर्वनिश्चित समय कायम राख्न गाह«ो पर्दछ । यसलाई परिणामगत ढिलाइ भन्न सकिन्छ ।

अन्य कारणहरूबाहेक काठमाडौँबाट उडान ढिलो हुने कारणहरूमध्ये हिउँदमा गाढा कुहिरो तथा वर्षायाममा भीषण वर्षा प्रमुख कारक बन्ने गरेका छन् । कहिलेकाहीँ तिनै कारणले उडान रद्द गर्नुपर्ने पनि हुन्छ । सामान्यतः वायुको गति, कुहिरो, भीषण वर्षा र तुवाँलो जस्ता मौसमी कारणहरूले गर्दा दृश्यमा आउने असमान भूतल र हवाई ग्राउन्ड स्पष्ट नदेखिने तथा चट्याङ, मेघगर्जन आदि प्राकृतिक कारणले गर्दा पनि उडान रद्द गर्नुपर्ने हुन्छ ।

नेपालमा पहाडी क्षेत्रतर्फका उडानहरू अरू मुलुकहरूको तुलनामा मौसमी विविधताबाट बढी प्रभावित रहने गर्दछन् । मुलुकमा ६० मध्ये ३५ वटा विमानस्थलहरू कच्ची छन् । वर्षायाममा ६० वटै विमानस्थलको सेवा उपलब्ध गराउन सकिँदैन । बाकी २५ वटा विमानस्थलहरू पनि अत्यधिक वर्षा भएको समयमा अधिकांशतः हवाई सेवाका निमित्त उपयुक्त हुँदैनन् ।

पहाडी क्षेत्रका धेरैजसो विमानस्थल विमानमार्गसम्बन्धी निर्देशन गर्ने संयन्त्र अथवा साधनले सुविधासम्पन्न नभएका हुँदा ठीक–ठीक मौसमी विवरण पाउन कठिनाइ अथवा ढिलाइ हुन्छ । विमानस्थलको बत्ती र सञ्चारसम्बन्धी सहायक उपकरणको कमीले गर्दा नेपालमा विमानसेवा विहान र दिउँसो मात्र चल्छ भने हाल आएर केही एयरपोर्टहरु रात्रीमा पनि संचालनमा ल्याएको छ ।

दिउँसो तेज हावा चल्ने हुँदा सारा उडानहरू बिहानको समयमा मात्र सञ्चालन गर्नुपर्ने हुन्छ । उडानअघि नै मौसमसम्बन्धी ठीक विवरणको अभावले तथा यात्रु र विमानभित्रका कर्मचारीको सुरक्षा एवं मौसमले गर्दा उडानकै अवस्थामा बीचैबाट फर्कनुपर्ने हुन्छ । त्यसैले निरर्थक उडानखर्चलाई दृष्टिगत गरी उडान रद्द गर्नुपर्ने हुन्छ ।

मौसम बाहेक उडान रद्द गर्नुपर्ने अन्य कारणहरू पनि छन् । पहिले नै अनुमान गर्न नसकिने प्राविधिक गडबडी एउटा कारण हो । नेपालमा पूर्ण क्षमतायुक्त विमानस्थलहरू नभएकाले र कठिन अवस्थाहरूले गर्दा प्राविधिक गडबडी बढी हुने गर्दछ ।

नेपाल अन्तर्राष्ट्रिय हवाई यातायातको मार्गबाट अलि टाढाको क्षेत्रमा पर्ने हुनाले चाहिएको समयमा विदेशबाट विमानका त्यस्ता पार्टपुर्जाहरू पैठारी गरिहाल्न गाह«ो पर्दछ । त्यसले गर्दा पनि जहाज मर्मत गर्न ढिला हुन अनि समयमा उडाउन सकिँदैन ।

प्रायजसो यात्रुहरूबाट खाली विमान उडाएर लगेको गुनासो पनि सुनिन्छ । त्यस्तो हुने गरेको पनि छ । त्यसो हुनुका केही कारणहरू हुन्छन् । त्यता पनि हेरौँ ।
टिकटको बिक्री उडान हुनुभन्दा अगावै टिकट बिक्री गरिसक्नु पर्दछ । टिकट किनिसकेका कतिपय यात्रुहरूले कहिलेकाहीँ कारणवश आफ्नो उडानको कार्यक्रममा परिवर्तन गर्दछन् ।

कार्यक्रम परिवर्तन वा रद्द गरिएको जानकारी कतिपय कारणवश बेलैमा विमानसेवालाई सूचित नगरिदिँदा विमानका सिटहरू खाली हुने गर्दछन् । यात्रुहरूले त्यस सम्बन्धी अग्रिम सूचना बेलैमा दिने हो भने खाली हुने सिटहरू आवश्यक पर्ने मानिसहरूका लागि उपलब्ध गराउन सकिन्छ ।

अन्तराििष्ट्रय उडानसेवामा त यस्तो स्थिति अझै जटिल छ । विदेशका अनेक ठाउँमा उपलब्ध रहेका नेपाल वायुसेवा निगमको विमानसेवाबाट यात्रा गरी नेपाल आउन चाहने पर्यटक समूह तथा यात्रुहरू कहिलेकाहीँ टिकट किनिसकेर पनि निश्चित समयमा विशेष कारणवश टिकट काटेका व्यक्तिहरु विमानस्थलमा पुग्न सक्तैनन् ।

त्यस्तो अवस्थामा अन्तिम समयतिर यात्रुहरू बटुल्न सम्भव पनि हुँदैन । जहाजलाई चाहिँ थोरै यात्रुहरू लिएरै भए पनि उड्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा पनि विमान खाली देखिनु स्वाभाविकै हुन्छ ।

हाम्रा पहाडी क्षेत्रका विमानस्थलका धेरैजसो धावनमार्गको लम्बाइ छोटो छ । त्यसैले विमान पूरा बोझ बोकेर त्यहाँ उत्रन सक्तैन । यात्रुवर्गको सुरक्षालाई ध्यानमा राखेर विमानलाई बढी बोझ नपर्ने गरी हलुका रूपमा उडाउनुपर्दछ । त्यसले गर्दा पनि सिट खाली देखिन्छ ।

हाम्रा अधिकांश आन्तरिक विमानस्थलमा इन्धन आपूर्तिको सुविधा नभएको हुँदा विमानलाई फर्कन चाहिने इन्धनको समेत पहिले नै व्यवस्था गर्नुपर्छ । त्यसका लागि पनि त्यही अनुपातमा विमानको बोझ घटाउनुपर्छ । त्यसैले केही सिट खाली राखेर विमान उडाइएको देखिए तापनि वास्तवमा त्यसको वास्तविक आधार यही हो । बोझ बोक्ने क्षमता अनुसार नै विमान उडाइएको हुन्छ ।

जहाज खाली उडाइने र जहाज ढिलो उड्ने, यी दुई गुनासा यात्रुहरूबाट आउने मूल गुनासाहरू हुन् । गुनासाहरू आउनु स्वाभाविक हो र हवाई सेवालाई परिमार्जित गर्दै गुणस्तरीय र विश्वसनीय उडान गराउन त्यस्ता गुनासाहरू आउनु पनि पर्छ ।

यात्रुका गुनासाहरू भनेका आलोचना होइनन्, हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन व्यक्त गरिएका चाहनाहरू पनि हुन् । यस्ता गुनासाहरूलाई सम्बोधन गर्ने गरी आवश्यक पहल गर्नु नेपाल वायुसेवा निगम लगायत सम्बन्धित अन्य निकायहरूको कर्तव्य पनि हो ।

१७ असार २०७९, शुक्रवार ०५:०४ बजे प्रकाशित

stcnepal long ad