आज पुस २७ गते राष्ट्रिय एकता दिवस
आज पुस २७ गते नेपाल एकीकरणका सुत्रधार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००ओैं जन्मजयन्ती । नेपाली भएर बाँच्न पाउने गौरवको प्रत्याभूति गर्ने महान, दुरदर्शी र सुरवीर पुरुषको जन्मदिन सम्पूर्ण नेपालीका लागि हर्षोउल्लासको क्षण हो ।
आज भन्दा करिब ३०० वर्ष पहिला नेपालको गोरखा जिल्लामा जन्मेर १९ वर्षको कलिलो उमेरमा राजगद्वी सम्हालेका पृथ्वीनारायण शाहको अकल्पनीय प्रयासले यो मुलुक निर्माण भएको हो ।
यस्ता महान पुरुषको जन्मदिन तथा ३०० औं पृथ्वीजयन्ती सम्झदा श्रद्धाले शिर निहुरिन्छ र हर्षले विभोर हुन पुगिन्छ ।
अन्य राज्यका शासक जस्तै राजगद्वीको सुखसयलमा रमेर जीवन बिताएको भए सायद आज हामी नेपाली भएको गर्व गर्न पाउने थिएनौ होला । बाल्यकालमा नै उनले कठोर यात्रा मात्र थालेनन् त्यसलाई पूरा गरेर नेपाली जातिको शिर उच्च बनाईदिए ।
पृथ्वीनारायण शाह गद्धीसिन हुनु अघि नेपाल टुक्राटुक्रा राज्यमा विभक्त थियो । तत्कालीन बाईसे–चौबिसे,सेनराज्य,माझ किरात,पल्लो किरात जस्ता राज्यहरु आपसी द्धन्द्ध र दाउपेचमा लिप्त थिए । जनता प्रत्येक शासकबाट प्रताडित थिए ।
जनता शासकहरुको सुखसयलका लागि कर तिर्न र युद्धका लागि सामान जुटाउन मात्र बाध्य थिएनन् लडाईका लागि निर्ममतापूर्वक आफ्ना सन्तान शासकहरुलाई उपलब्ध गराउन विवश थिए ।
नेपाल र नेपालीको अस्तित्व संकटमा रहेको बेलामा पृथ्वीनारायण शाहले महत्वकांक्षी र कठोर प्रतिज्ञा गरी नेपाल एकीकरणको महाअभियान आरम्भ गरेका थिए । राज्यका सबै जात जाति तथा धर्म संस्कृतिका मानिसलाई गोलबद्ध गरेर अघि बढेका थिए ।आम नागरिकको स्वेच्छिक सहयोगमा एकीकरण अभियानलाई कुशलता पूर्वक अगाडि बढाएका थिए ।
युद्धका लागि गरिब नागरिकले पनि स्वत स्फूर्त रुपमा चन्दादिएको र विरविरगंना नेपालीले युद्धमा भाग लिएर नेपाल एकीकरणको अभियानमा सघाएको इतिहासले उनीप्रति जनताको अगाध आस्था र उनले थालेको अभियानमा जनस्वामित्व पुष्टि हुन्छ ।
विरोधी राज्यका जनता तथा महत्वपूर्ण जिम्मेवारीमा बसेका व्यक्तिले पनि एकीकरण अभियानलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा समेत सघाउनुले उनको सबल कुटनीति, आदर्श सोच तथा मानवीय व्यवहारको पुष्टि गर्दछ ।
उनले नेपाल एकीकरण गरेर हाम्रा लागि विशाल नेपाल र स्वतन्त्र तथा गौरवशाली नेपाली इतिहास मात्र छाडेनन् दिव्य उपदेशहरुका माध्यमबाट देशले कसरी सुशासन कायम गर्न तथा समृद्धि हासिल गर्न सक्छ र देशको स्वाधिनता कसरी अक्षुष्ण राख्न सकिन्छ भन्ने सम्बन्धमा कालजयी दृष्टिकोण प्रस्तुत गरी राष्ट्र निर्माणको अभियानलाई पूर्णता दिएको देखिन्छ ।
अपराजित नेपाली इतिहास उनले चालेको कदमको अभिन्न पाटो हो । उनले देखाएको मार्गमा तत्पश्चातका शासक र नेपाली जनता सदैब लागेर नेपाललाई विशाल बनाउने महाअभियान लामो समय सम्म चल्यो ।
पृथ्वीनारायण शाहको प्रतिज्ञा, बलिदान एवं रणकौशलको प्रतिफल स्वरुप हामीले विशाल नेपाल प्राप्त गरेका छौं । आफूलाई नेपाली भन्न पाएका छौं, विश्वमा हाम्रो अलग पहिचान, अस्तित्व र गौरवपूर्ण इतिहास कायम भएको छ ।
पृथ्वीनारायण शाहको मन मस्तिष्कमा विशाल एकीकृत नेपाल निर्माणको चित्र नकोरिएको भए सायद नेपाल र नेपालीको अस्तित्व विश्व मानचित्रमा रहने नै थिएन । एकीकरण अभियानदेखि नै हरेक जातजाति र धर्मालम्बीका बीचमा सदभाव कायम गर्दै सबैलाई उचित सम्मान र अवसर दिएकै कारण उनलाई सबैको साथ र समर्थन रहनुका अतिरिक्त सबै नेपालीका बीचमा गहिरो प्रेम तथा भातृत्व विकास हुन गएको पाइन्छ ।
उनी एकीकरण कर्तामात्र नभएर राष्ट्रिय एकताका प्रतिक पनि हुन । संसारका सबै मुलुकमा राष्ट्रनिर्माताको स्थान अत्यन्त उच्च हुने गरेको छ तर विडम्बना भन्नु पर्दछ नेपाली–नेपाली बीचको बैमनस्यतालाई अन्त्य गर्ने, साम्राज्यवाद्को दवदवा चलेको बेलामा नेपाललाई सुरक्षित राख्ने, सम्पूर्ण नेपालीका बीचमा एकताको भाव विस्तार गर्ने दूरदर्शी राष्ट्र निर्माताका प्रति उचित श्रद्धा भाव व्यक्त हुन सकेको छैन ।
बरु व्यक्तिगत लाभका लागि राष्ट्रनिर्माताको योगदानलाई अनुचित व्याख्या गर्ने र नेपाली इतिहास बग्यांउने तर्फ एकथरी विदेशीबाट परिचालित शक्ति निरन्तर लाग्दै आएका छन ।
अरुको इशारामा होस वा क्षणिक लाभका लागि होस् पराइबाट परिचालित शक्तिले नेपालको राष्ट्रियतालाई कमजोर बनाउने षडयन्त्र गर्दै आएको छ । राष्ट्रनिर्माताको सम्मान र सम्झनामा आयोजना गरिने पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको छ ।
हामीलाई चेतना हुन जरुरी छ इतिहास अत्यन्त निर्मम हुन्छ यसलाई मेटाउन खोज्ने शक्ति स्वयं मेटिने गर्दछ ।
आज हामीलाई विशाल नेपाल दिने महानपुरुष पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन के कारण कठिन भएको छ रु राष्ट्रिय एकता दिवस मनाउन हामी किन हिच्किचाउदै छौं रु जसले सबै जातजाति र धर्मका बीचमा एकता कायम गरायो उसैको सम्मान गर्न किन डराएका छौं ? हामीले आज आफैलाई प्रश्न गर्नुपर्ने समय आएको छ ।
हाम्रो विवेकको परीक्षण गर्ने घडीआएको छ । अहिले कमजोर बन्दै गएको राष्ट्रिय स्वाधिनता र एकताको मूल कारण यस्तै अपरिपक्व निर्णयहरु हुन भन्नेमा हामी सचेत हुनै पर्दछ ।
नेपाली हुनुमा जुन गौरव छ । हाम्रा पूर्खाको रगत र पसिनाले सिंचित यस भूमिको गौरवशाली इतिहास हाम्रा लागि प्राण भन्दा प्यारो छ । त्यही भूमिका एकीकरण कर्ता तथा राष्ट्रिय एकताका प्रतिक बहामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती भब्यताका साथ मनाउनु हामी सबैको दायित्व,अधिकार र कर्तव्य हो ।
राज्यले यसलाई प्रवर्द्वन र सम्मान गर्नु आवश्यक छ । यस घडिमा सबै नेपालीमा एकता र सदभावको विकास होस् र राष्ट्रियताको संवर्द्वनमा हामी सबै एकजुट हुन सकौं भन्ने शुभकामना प्रदान गर्दै यस पर्वलाई भव्य रुपमा मनाउन म सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईमा हार्दिक आब्हान गर्दछु ।
पुस २७ अर्थात पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउन यसलाई राष्ट्रियपर्वका रुपमा घोषणा गर्न सरकारसँग पनि म सचेत र जागरुक नागरिकको तर्फबाट जोडदार माग गर्दछु।


























