citizens life insurance long ad
stcnepal long ad

भ्रष्टाचार न्यूनीकरणमा पलाएको आशा

Nimb long ad
Prabhu Insurance Long Ad

–पुष्करराज प्रसाई

हाम्रो मुलुकको शासन प्रशासनमा सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हो । सो आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणले भेटेसम्म कसैलाई नछोड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

नेपाली नागरिक समाज र आम जनताले अपेक्षा गरे अनुसार नै विधि प्रक्रिया र कानुनसम्मत ढङ्गले प्रभावकारी कदम चालेमा यो असम्भव पनि छैन । उहाँको यो प्रतिबद्धता असल शासन र समृद्ध समाजको निम्ति शुभ सङ्केत मान्न सकिन्छ । तर कार्यान्वयनको पाटो हेर्नु नै छ ।

प्रतिशोध र पूर्वाग्रहका आधारमा निर्दोष फसाएर कार्यप्रगतिका ग्राफ देखाउने र दोषी भएर पनि आफ्नो मान्छे जोगाउने प्रवृत्ति समेतको अन्त्यको अपेक्षा नागरिक समाजले गरेको छ ।

अहिले विकास निर्माणका कार्यहरूमा आफ्ना अनुकूल एजेण्टको खोजी गरी बजेट पार्ने र गुणस्तरहीन कार्य गरी कमिसन कुम्ल्याउने प्रवृत्ति व्यापक देखिन्छ । सर्वसाधारण जनता आफ्नो गाउँमा विकास बजेट परेकोमा दङ्ग हुन्छन् तर त्यही मौका छोपी गुणस्तरहीन काम गरी आफ्ना सुरक्षित एजेण्टमार्फत कमिसन खाने गरेका तथ्य बाहिर आइरहेका छन् । यस्ता प्रवृत्ति भनेको स्याल गाउँमा पसी मान्छेलाई झुक्याइँ कुखुरा खाने प्रवृत्तिजस्तै हो ।

संवैधानिक निकायका पदाधिकारी तथा राज्यका विभिन्न महìवपूर्ण पदमा रहनेसँग अपवित्र साँठगाँठ गर्दै अकुत सम्पत्ति आर्जन गर्नेहरू आज अनेक भेषमा देखा पर्न थालेका छन् र त्यो सम्पत्तिलाई शुद्धीकरण गरेर करोडौँ रुपियाँ आर्जन गरिरहेका छन् । अनि ती अवैधानिक रकमहरू आफ्नो बैङ्क खातामा नराखी नातागोता विश्वासिला व्यक्तिको नामको खातामा राखेर कानुनी कारबाहीलाई छल्ने गरेको तथ्य पनि छन् ।

सरकारकै निकायसँग मिलोमतो गरी सरकारी सम्पत्तिको दोहन गर्न उद्धत स्थानीय निकाय लगायत अन्य सङ्घ संस्था र व्यक्ति सबैको पहिचान गर्न जरुरी छ । ती सबैलाई एक एक खोजेर कानुनको कठघरामा उभ्याउन अख्तियार सफल हुनुपर्छ । विगतमा भ्रष्टाचार गरी विदेशमा लुकाइएको सम्पत्ति र गैरकानुनी काम गरेवापत तस्कर माफियासँग ‘टिप्स’ को रूपमा पाएका करोडौँ मूल्यका जग्गा तथा अन्य भौतिक वस्तुसमेत खोजी गरी कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ । बाहिर बाहिर सुशासनको गफ हाँक्ने, भित्रभित्र कुशासनको चक्र चलाउँदै कम्मल ओढेर घिउ खाने प्रवृत्ति भएकालाई ठेगान लगाउन सक्नुपर्छ ।

सुकुम्बासीको नाममा हुकुमवासीले जग्गा हत्याउने र राष्ट्रिय सम्पत्तिको रूपमा रहेका प्राकृतिक स्रोत सम्पदाहरूको दोहन गर्नै परिपाटी अन्त्य गराउन सक्नुपर्छ । जनताले दैनिकी रूपमा अड्डा कार्यालयमा भोग्नुपरेका ढिलासुस्ती, घुस प्रकरण पनि समूल अन्त्य गरी सुशासन दिन सक्नुपर्छ ।

अहिले अधिकांश कार्यालय, अड्डाहरू सिष्टम (पद्धति) मा चलेको पाइँदैन, पदीय कर्तव्य र जिम्मेवारीप्रति नै उदास देखिन्छन्, तिनीहरूमा देशभक्ति भावना पाइँदैन । कार्यालय परिसरमा रहेका सरकारी सम्पत्तिहरूको यथोचित संरक्षण नगरी यत्रतत्र फालिएको पाइन्छ ।

जफत गरिएका सवारी साधन लगायत अन्य भौतिक वस्तु समयमै उचित प्रबन्ध नगर्दा पार्टपुर्जाहरू चोरिने हराउने गरेकोे र सडेर जाने गरेको छ । प्रयोगमा ल्याउन सकिने गाडी हँुदाहँुदै अर्को नयाँ खर्चिलो गाडी खरिद गर्ने परिपाटी छ । यो व्यक्ति पोषाएर राज्य ढुकुटी रित्तो पार्ने भ्रष्टाचार नै हो । ती वस्तु बिक्री गरी आएको रकम राज्य कोषमा आम्दानी बाधिँदा अर्बौं रुपियाँ आर्जन हुने देखिन्छ । यस्ता बेथिति र अनियमिततालाई समेत कानुनी दायराभित्र ल्याउन सक्नुपर्छ ।

त्यसैले अब अख्तियारले सबै सरकारी निकायलाई सिष्टममा हिँड्ने बनाउन सक्नुपर्छ । यही सिष्टममा नहिँड्ने प्रवृत्तिले आज देश आर्थिक अनियमितता र भ्रष्टाचारले आक्रान्त छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रकाशित गरेको २०२० को रिपोर्टअनुसार नेपाल गत वर्षको ११३ औँ स्थानबाट झन् खराब भई ११७ औँ स्थानमा पुग्नु दुःखद अवस्था हो । विकास बजेट बालुवामा पानी हालेजस्तै भएको छ । विगत आधा शताब्दीलाई मात्र दृष्टिगत गर्दा एसिया महादेशका धेरै मुलुकले विकासमा फड्को मारेको देखिन्छ

। जसले देश विकासको आधार शिक्षाबाट खोजे, सुशासनलाई रोजे अनि इमानदारीपूर्वक देश विकासमा लागे, ती देशहरू समृद्ध बन्न सफल भए । त्यसकारण हामीले पनि भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासन कडाइपूर्वक लागू गर्न सक्नुपर्छ ।
थाहा छ, भ्रष्टाचारीलाई पाता कस्ने काम त्यति सहज त छैन ।

भ्रष्टाचारको जरो उखेल्न खोज्दा आफैँ हट्नु पर्ने दुःखदायी अवस्था निम्तिएको पनि देखिएको छ । तर हामी विचलित हुनुहँुदैन किनकि यस्ता कार्यमा जनताको साथ सहयोग रहनेछ । जनताले सुरक्षा दिनेछन् । वर्तमान सरकारले पनि भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने भनिरहेको अवस्था छ ।

‘म भ्रष्टाचार गर्दिनँं, म भ्रष्टचार गर्न दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्नै प्रतिज्ञा गर्दछु’ भन्ने लेखेर टाँसिएको हरेक कार्यालयमा देखिन्छ तर तिनै कार्यालयमा भ्रष्टाचारको गुनासो सुनिन्छ ।

अहिले अन्तर्राष्टिय जगत् नै पनि भ्रष्टाचारको विरुद्ध उत्रिएको छ । १९८० को दशकबाट प्रशासन सुधारको लहर आएको छ जसअनुसार परिभाषित जिम्मेवारी, नागरिक सेवालगायतका कार्य सम्पादनमा उचित सतर्कता, नागरिकसँग गर्नुपर्ने व्यवहार र सेवाको मापदण्ड, कार्य गुणस्तर आदि रहेका छन् ।

प्रशासनको परम्परागत जवाफदेहिताको स्वरूपलाई परिवर्तन गरी सीधै सेवाग्राहीप्रति जवाफदेही बनाउन थालिएको छ । सेवाप्रवाहको कार्यमा सेवाग्राहीकै प्रत्यक्ष संलग्नता खोज्ने र साझेदार बनाउने कार्यले मान्यता पाएको छ । विभिन्न माग तथा नीति दबाबको परिणाम स्वरूप सार्वजनिक ओहदा प्रयोग गर्ने पदाधिकारीले सैद्धान्तिक रूपमा सात आचरणलाई अवलम्बन गर्नुपर्ने गरी अन्तर्राष्ट्रिय मापदण्डसमेत निर्माण भएको छ ।

यी सिद्धान्तहरू सार्वजनिक जीवनका सिद्धान्तका नामले चिनिएका छन्–स्वार्थहिनता, सदाचार, वस्तुपरकता, जवाफदेहिता, खुलापना, इमानदारी र उदाहरणीय असल नेतृत्व । सार्वजनिक ओहदामा बस्नेले गरेका कार्यबाट सार्वजनिक स्वार्थमा कत्ति पनि आँच आउन नदिने, वैयक्तिक लोभ लालच र स्वार्थबाट अलग हुने, मनोगत आधारमा नभई सार्वजनिक सरोकारमा अपनाइएको कार्यविधि एवं कार्यधारमा वस्तुपरकता हुनुपर्ने, आफूले गरेको कामप्रति आफैँ जवाफदेही हुनुपर्ने, गरिएका सबै कार्यहरूमा सरोकारवालाहरूको पहुँच स्थापित भएको हुनुपर्ने र गरिएका कार्यमा इमानदारीको उच्चतम प्रदर्शन हुनुपर्ने भनी व्याख्या गरिएको पाइन्छ । यी सिद्धान्तहरूको परिपालना गराउने कार्यमा उच्चतम भूमिका अख्तियारको हुने गर्छ ।

वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग नागरिक पहरेदारी गर्ने संस्था हो । सवैधानिक या कानुनी रूपमा स्थापित भएको किन नहोस्, यसले प्रशासनिक व्यवहारबाट पीडित पक्षलाई उपचार दिने, प्रशासनिक स्वच्छता र जवाफदेहिता प्रवद्र्धन गर्ने एवं समाजमा सदाचार संस्कृतिको विकास गर्ने भूमिका निर्वाह गर्छ ।

जहाँ यस्तो संस्थाले कार्यप्रणालीमा प्रभावकारिता देखाएको छ, त्यहाँ प्रशासनिक स्वच्छता बढेको फिनल्याण्ड, नर्वे, स्वीडेनको सम्बन्धमा ‘ग्लोबल करप्सन रिपोर्ट’ ले प्रमाणित गरेको छ । जहाँ यस्ता संस्थाको कार्यप्रणाली औपचारिक मात्र छ त्यहाँ न सदाचार वहाली भएको छ न यसप्रति नागरिक जागरुकता नै स्थापित छ । जस्तो कि बङ्गलादेश ।

मूलतः प्रशासनिक सदाचार र स्वच्छता प्रवद्र्धन गर्ने कार्य कार्यकारिणीकै हो तर उसले गर्न नसकेर वा उसप्रति अविश्वास गरिएर सो कार्य गर्न यस्ता संस्था स्थापित भएका हुन्छन् ।

जसले प्रशासनिक पहरेदारीको कार्य गरी प्राप्त भएको उपलब्धिले सरकारलाई नै सहयोग पु¥याइरहेको हुन्छ । यसले सरकारको जवाफदेहिता र वैधतालाई स्थापित गर्न सघाउँछ । अतः यसको भूमिका बहुआयामिक छ । यो संस्था समृद्ध देशको आधार स्तम्भ नै हो । त्यसकारण अख्तियार प्रमुखको प्रतिबद्धताले पलाएको आशा सार्थक हुन सकोस् ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

IME Life
kumari