stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाली सेयर बजारको यात्रा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाली सेयर बजारले अघिल्लो बुल बनाएको करिब चार वर्ष भइसक्यो । बजारमा २०७८ भदौ २ गते अघिल्लो सर्वाधिक उचाइ नेप्से सूचक तीन हजार १९८.६० अङ्कसम्म पुगेको हो । लगानीकर्ताले लामो समय वियरिसको तितो अनुभव बटुल्दै बजारले बुल ट्रेन्डको यात्रा गरेको पनि एक वर्ष भएको छ । अघिल्लो अगस्त (भदौ) महिनामा पनि नेप्सेले तीन हजारको विन्दु पार गरेको भए पनि बजारमा व्यापक विकवाली आएकाले बजार ओरालो लाग्यो ।

एक वर्षमा बजार घट्यो अनि लामो समय साइडवेज रहँदै हाल पुनः तीन हजारको विन्दु छोएर केही करेक्सन देखिएको छ । बढोत्तरीपछिको करेक्सनलाई सहज नै मान्नु पर्छ तर नेपाली सेयर बजार उकालोको यात्रामै रहेको कुरालाई भने बजारका सबै जस्ता पण्डितले स्विकारेको अवस्था हो । अघिल्लो वर्ष तीन हजार छोएर फर्केको बजारको अवस्था अहिले भने नहोला भन्ने कुराको आधार प्रशस्तै छन् ।

हाल सरकारको सम्बन्धित मन्त्रालय अर्थ, नेपाल राष्ट्र बैङ्क लगायत सबै नियामक निकाय बजारप्रति सकारात्मक नै देखिएको अवस्था मात्र होइनस बजारलाई सन्तुलित ढङ्गबाट अगाडि बढ्नका लागि विभिन्न बजारमैत्री नीति नियमसमेत कार्यान्वयनमा आइसकेको छ । बजारमा लगानीकर्ताको सङ्ख्या निकै बढेको छ ।

यसले बजारमा केही दिन करेक्सन आए पनि यो खरिदका लागि योग्य अवसर मात्र हुने अनुमान सहजै गर्न सकिन्छ । हाल सेयर बिक्री गरेर कम नाफामा चित्त बुझाउने लगानीकर्ताले ठुलो नाफा गुमाउन नपर्ला भन्न सकिँदैन ।

आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा वाणिज्य बैङ्कहरूको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ७६ प्रतिशत रहेको तथ्याङ्कले देखिए पनि त्यस्तो अनुपात अझै घट्दो हुनु र निक्षेपको अनुपातमा कर्जा विस्तार हुन नसक्नुले समस्या निम्तिएको छ । बैङ्कले सङ्कलन गरेको निक्षेपबाट ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिको मुख्य उद्देश्यमध्ये एक हाल बैङ्क वित्तीय संस्थासँग रहेको अधिक तरलताको सही सदुपयोग गर्दै कर्जा विस्तारमार्फत मुलुकको अर्थतन्त्र थप चलायमान बनाउनु पनि हो ।

गत आर्थिक वर्षको अन्त्यसम्मका तथ्याङ्क अनुसार वाणिज्य बैङ्कले कुल ५७ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप सङ्कलन तथा ४५ खर्ब ७१ अर्ब कर्जा प्रवाह गरेको पाइएको छ । हाल भएको मौद्रिक नीतिले व्यवसाय, उद्योग, घरजग्गा, कृषि, सेयर कर्जा विस्तारलाई थप प्रोत्साहन गर्ने विश्वास गर्न सकिन्छ । व्यक्तिगत सेयर धितो कर्जाको सीमा मौद्रिक नीति मार्फत १५ करोडबाट २५ करोड पु¥याएको अवस्थामा यस्तो कर्जा अझै बढ्ने अनुमान गर्न सकिन्छ ।

बैङ्कमा तरलता अत्यधिक रहेकाले त्यसको सदुपयोग गर्ने सिलसिलामा सेयर धितो कर्जा विस्तारले अझै गति लिने विश्वास गर्न सकिन्छ । हाल बैङ्कहरू मार्फत सेयर धितो कर्जा एक खर्ब २८ अर्बको हाराहारीमा रहेको भए पनि मौद्रिक नीतिमार्फत आएको नयाँ व्यवस्थाले त्यस्तो कर्जा अझै बढ्ने देखिन्छ, जसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने निश्चित छ ।

प्रविधि आधुनिकीकरण र थपिँदो लगानीकर्ता

चार वर्षदेखि पहिलेको बुल पार गर्न नसकेको र हालको मौद्रिक नीति पश्चात् बजारमा देखिएको रौनकले अघिल्लो वर्षको तीन हजारको विन्दु छोएको छ अनि त्यसलाई तोडेर माथि जाने प्रयत्न गर्दै छ । बजार माथि जाने आधार खोज्दा नेपाली बजारको विस्तार र आधुनिकीकरणमा भने ठुलै कार्य भइसकेको छ ।

हालको तथ्याङ्क अनुसार नेपाली सेयर बजारमा कारोबार गर्न योग्य हुनका लागि डिम्याट खोल्नेकोे सङ्ख्या ६८ लाख ६५ हजार पार गरिसकेको अवस्था छ, जुन मुलुकको कुल जनसङ्ख्याको २३.५३ प्रतिशत नजिक हो, त्यसै गरी अनलाइन मार्फत कारोबार टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) सञ्चालक लगानीकर्ताको सङ्ख्या २६ लाख ३३ हजार ५१० नाघेको तथ्याङ्क छ ।

पहिले ब्रोकरको कार्यालयबाट मात्र कारोबार गर्ने अवस्था बदलिएको छ । अहिलेको अवस्थामा विश्वको कुनै पनि कुनाबाट सेयर कारोबार गर्न सकिने भएको छ । अझ गैरआवासीय नेपालीलाई समेत सेयर बजारमा लगानी सहज र सरल बनाउने कुरामा नियमनकारी निकाय लचिलो बन्ने खबरले बजारमा लगानी गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने आशा गर्न सकिन्छ ।

अहिले नै विदेशमा काम गर्ने नेपालका लागि कुनै पनि कम्पनीको प्राथमिक सेयरमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ, जसले उनीहरूलाई दोस्रो बजारमा ल्याउनसमेत उत्साहित गर्दै आएको छ ।

सुदृढ बन्दै मुलुकको अर्थतन्त्र

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकको अर्थतन्त्र ६१ खर्बमा पुगेको छ । जुन ५७ खर्बबाट एकै वर्षमा चार खर्ब बढेर पुगेको हो । सेयर बजारमा सामान्य मान्यता अनुसार बजार पुँजीकरण मुलुकको अर्थतन्त्रभन्दा बढी भएको अवस्थामा बजार उच्च विन्दुमा पुगेको र बजारमा ठुलो करेक्सन आउन सक्ने मानिन्छ । हाल सेयर बजारको पुँजीकरण ४९ खर्ब नाघेको छ ।

मुलुकको अर्थतन्त्र र बजार पुँजीकरणको मूल्याङ्कन गर्दा बजारमा बढोत्तरीको सम्भावना अझै देखिन्छ । त्यसको अलावा चार वर्ष पुरानो अलटाइम हाल तीन हजार दुई सय अङ्क नजिकको विन्दुलाई पार गरेर माथि नगएसम्म बजार बुलिस मान्न सकिन्न । अहिलेको अवस्थामा बजार बुलिस यात्रामा प्रवेश गरेको मात्रै मान्न सकिन्छ ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकारले गर्ने पुँजीगत खर्चको अवस्थालाई पनि आकलन गर्नु पर्छ । जसमा गत आवमा सरकारले गर्ने पुँजीगत खर्चमा ३६ अर्बले वृद्धि भएको पाइनुले पनि अर्थतन्त्र चलायमान बन्ने दिशामा भएको पुष्टि गर्छ ।

बैङ्क वित्तीय संस्थासँग तरलता बढेको अवस्थामा गत आवमा मात्र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ भने विदेशमा ७७.८ प्रतिशतले वृद्धि हुनुले पनि मुलुकको अर्थतन्त्र सही दिशामा भएको देखाउँछ ।

मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने सिलसिलामा विभिन्न नीति नियम र ऐनमा भएको सुधारका कारण मुलुकभित्र लगानीमैत्री वातावरण बन्दै गएको दाबी अर्थ मन्त्रालयले गरेको छ । अर्थतन्त्र सबल हुँदै जाँदा सेयर बजारमा पनि त्यसको सकारात्मक असर पर्ने विश्वास गर्न सकिन्छ ।

अबको बजारको यात्रा

नेपाल राष्ट्र बैङ्कले बजारमैत्री मौद्रिक नीति सार्वजनिक गरेपश्चात् नेप्सेले तीन हजारको मनोवैज्ञानिक प्रतिरोध बारम्बार तोडेको छ । मौद्रिक नीति सार्वजनिकपछि निरन्तर आठ कारोबारी दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न थालेपछि आइतबार २६ अर्ब ५७ करोडको ठुलो बिक्रीको चाप आयो । आइतबार सुरुवाती चरणमा बढेको बजार अन्त्यमा भने झिनो १८.४४ अङ्कको गिरावट आएको थियो ।

ठुलो मात्रामा नाफा बुक भए पनि स्मार्ट मनि बजारमा छिरिसकेको अनुमान भने त्यति ठुलो मात्रामा आएको सेयर खरिदमा पनि सक्रियता देखिएकाले नै गर्न सकिन्छ । बढेको बजारमा नाफा बुकका कारण सामान्य गिरावट देखिए पनि गिरावटले गति लिन भने सकेन सोमबार लगानीकर्ताको नाफा बुक गर्नेको चाप सकिएको झैँ देखिएको छ भने सुरुवाती चरणमा उच्च अङ्कले घटेको बजारमा अन्त्यमा ७.१० अङ्कको झिनो गिरावटसँगै बजार दुई हजार ९७१.३१ को अङ्कमा उक्लिएको छ ।

कारोबार रकममा भने केही कमी आएर १९ अर्ब ३६ करोडमा ओर्लिएको छ । जसले बजारमा लगानीकर्ता बिक्रीका लागि तयार छैनन् भन्ने देखाउँछ । साताको तेस्रो दिन मङ्गलबार पनि करेक्सन समाप्त भएको पुष्टि गर्दै बजारमा लगातार बढोत्तरी देखिएको थियो । सुरुवाती बजारमा ५५ अङ्कभन्दा माथि बढेको बजार अन्त्यमा आइपुग्दा ३०।७६ अङ्कको बढोत्तरीसहित बजार तीन हजार २।७ को विन्दुमा उक्लिएको हो ।

मङ्गलबार पनि बजार तीन हजार ३९ को विन्दुलाई तोड्न असफल भए पनि तीन हजारमाथिको विन्दुमा अडन भने सफल नै भएको हो । साताको चौथो दिन बुधबार भने नाफा बुक गर्ने लगानीकर्ता सुरुदेखि नै हाबी भएकाले नेप्सेमा ४७.९३ अङ्कको उच्च गिरावट आएर नेप्से दुई हजार ९५४.१४ को विन्दुमा ओर्लिएको छ भने कारोबार रकम १६ अर्ब ४४ करोडको भएको छ ।

तीन हजारको विन्दु छुनेबित्तिकै ठुलो मात्रामा नाफा बुक गर्नेहरू हाबी हुने भएकाले बजार माथि जान अझै केही समय शक्ति सञ्चय गर्नुपर्ने विश्लेषकको भनाइ छ ।

बैङ्कसँग तरलाता पर्याप्त छ ब्याजदर सस्तो छ, जसले बजारलाई माथि लैजान सहयोग पुर्‍याउने छ । बजार बुलको यात्रामा रहेकाले घटेको बजारलाई खरिदारीको अवसरका रूपमा लगानीकर्ताले लिनुपर्ने धारणा विज्ञको छ । बजार अझै बुल रनमै रहेकाले बजारमा बढोत्तरीपश्चात् सामान्य करेक्सन अपेक्षित भए पनि अबको बजार माथि जाने कुरामा आशा गर्न सकिने प्रशस्त आधार छन् ।

prabhu mahalaxmi
kumari