stcnepal long ad
ime life insurance
national life
global ime bank long

जहाज थपेर व्यवसाय विस्तार गर्दै हवाई सेवा प्रदायक कम्पनी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज थपेर व्यवसाय विस्तारमा जुटेको छ । बुद्ध एयरले थप एटिआर–७२ (७२ सिटे) जहाज भित्र्याएर आक्रामकरुपमा बजार विस्तारमा लागेको हो ।

बुद्ध एयरले हालै थप एक थान एटिआर ७२ जहाज भित्र्याएको छ । योसँगै कम्पनीसँग अब ११ वटा एटिआर–७२, तीनवटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्नेछन् ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जहाज थपेर बजार विस्तार गर्न कम्पनी लागि परेको बताउनुभयो । उहाँका अनुसार देशको भौगोलिक अवस्था र जनजीवनलाई सहज तुल्याउन कम्पनीले बजार विस्तारको रणनीति लिएको जनाइएको छ ।

आफ्नो २४ वर्षे यात्राको आरोह अवरोहलाई छिचोल्दै बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको कम्पनीले उल्लेख गरेको छ । सन् १९९७ अक्टोवर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै शुरुवातमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

बुद्ध एयरले हाल दैनिक करिब नौ हजार यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीले दैनिक १५० हाराहारी उडान गरिरहेको छ । आन्तरिक हवाई यात्रुले भरिभराउ छ अर्थात झण्डै ९० प्रतिशत आन्तरिक हवाईयात्रुले जहाज भरिने गरेको कम्पनीका सूचना अधिकारी कर्णले बताउनुभयो ।

उहाँले कोभिड पूर्वकै अवस्थामा कम्पनीको आन्तरिक उडान भइरहेको उल्लेख गर्नुभयो । कोभिड–१९ महामारी घटेर सहज वातावरण बनेपछि अहिले भारतीय नागरिक पनि आउन थालेकाले पर्यटन बजार फष्टाउने अपेक्षा उहाँको छ ।

पोखरालाई हब बनाएर उडान

बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ । पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ ।

वनारसमा पुनः उडान

बुद्ध एयरले काठमाडौँ–बनारस गन्तव्यमा पुनः सिधा उडान गर्ने तयारी गरेको छ । आगामी चैत १८ (अप्रिल १ तारिख)( देखि काठमाडौँ–वनारसमा सिधा उडान गर्ने कम्पनीले जनाएको छ । उक्त गन्तव्यमा कोभिड महामारीका कारण उडान स्थगित भएको थियो । “हामी(बुद्ध एयर) वनारस उडानका लागि तयारी अवस्थामा छौँ, अप्रिलदेखि उडान पुनःसञ्चालन गर्नेगरी आवश्यक प्रक्रियामा छौँ”, सूचना अधिकारी कर्णले भन्नुभयो ।

कम्पनीले सातामा कति उडान, कुन–कुन बार गर्ने भन्ने टुङ्गो लगाइसकेको छैन । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

बुद्ध एअरपछि निजी क्षेत्रको अर्को हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले पनि जहाज थपेर बजार विस्तारमा आक्रामक रणनीति लिएको छ । कम्पनीले दुई महिनाअघि ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको थियो ।

कम्पनीले हाल आठ वटा जहाजले सेवा दिइरहेको छ । श्रीले यसअघि आन्तरिक उडान माड्यास क्यू ४०० दुईवटा तथा सीआरजे २०० ९५० सिटे० दुई वटा र सिआरजे ७०० ९७० सिटे० दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ ।

अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले पनि पाँच जहाजमार्फत सेवा दिइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १० हेलिकोप्टर कम्पनी सहित १९ हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् । रासस

IME Lifesidebar
kumari