उडडयान प्राधिकरणको बजेट छ महिनापछि पास, महानिर्देशक बन्न दौडधुप
काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेले समय नदिएकै कारण नेपाल नागरिक उड्डयान प्राधिकरणको बोर्ड बैठक बस्न सकेको थिएन ।
यद्यपि हिजो पुस ११ गते आइतवारका मन्त्री आलेले बोर्ड बैठक राख्न प्राधिकरणलाई निर्देशन दिएपछि ६ महिना पश्चात बल्ल बोर्ड बैठक बसेर नेपाल नागरिक उड्डयान प्राधिकरणको बजेट पारित गरेको छ । प्राधिकरणको बोर्ड अध्यक्षमा विभागीय मन्त्री रहने व्यवस्था रहेको छ ।
अध्यक्षको उपस्थिति बिना बोर्ड बैठक बस्न नसक्दा कर्मचारीको बढुवा र चालु आर्थिक वर्षको बजेटसमेत पारित हुन सकिरहेको थिएन । जसका कारण प्राधिकरण भित्र भइरहेका विकास निर्माण र अन्य आर्थिक गतिविधि ठप्प हुन पुगेका थिए ।
बजेट पारित नभएकै कारण सरकारले बजेट भाषणमार्फत चालू आर्थिक वर्षदेखि बढाएको तलब, भत्ता समेत प्राप्त गर्नबाट कर्मचारी बञ्चित भएका थिए ।
हाल प्राधिकरणमा ६ सदस्यीय आन्तरिक व्यवस्थापन बोर्ड रहेको छ । जसमा महानिर्देशक राजकुमार क्षेत्री अध्यक्ष रहेका छन् ।
५ जना सदस्यहरुमा भोला गुरागाईं, प्रतापबाबु तिवारी छन भने बाँकी ३ जना सदस्यको पद रिक्त रहेको छ । यसरी व्यवस्थापन बोर्ड रिक्त हुनुको मूल कारण प्राधिकरणको बोर्ड बैठक बस्न नसककोले कर्मचारीको बढुवा हुन नसक्दा खाली भएको गुनासो कर्मचारीले गरेका छन् ।
हाल गुरागाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयान कार्यालयको महाप्रवन्धक रहेका छन् । तिवारी भने नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका छन् ।
हाल प्राधिकरणको १२ औं तहको ४ जना उपमहानिर्देशकको दरवन्दी रिक्त रहेको कारण महत्वपूर्ण निकायहरु एभिएशन सर्भिसेज, एभिएसन सेफ्टी तथा सेक्युरिटी रेगुलेशन निर्देशनालय र कर्पोरेट निर्देशनालय प्रमुखविहीन भएको अवस्था छ ।
पुस ११ गते बसेको बोर्ड बैठकले ४ जनालाई १२ औं तहमा बढुवा गर्ने र चालू आ।व।को बजेट बोर्ड बैठकबाट पारित गर्ने एजेण्डा तय भएको थियो । तर, बजेट पास गर्ने बाहेकको अन्य एजेण्डा पास भएनन् । १२ जनाबाट ४ जनालाई १२ औं तहका लागि बढुवा सिफारिस गर्नुपर्ने भएपनि प्रतिस्पर्धामा १० जना रहेका थिए ।
को–को छन बढुवा सूचीमा ?
११ औं तहमा सिनियर र बढुवाका लागि दौडधुप गर्ने कर्मचारीहरुमा हंसराज पाण्डे, गोबिन्द प्रसाद दाहाल, बिनोद न्यौपाने, देवचन्द्रलाल कर्ण, प्रदीपकुमार अधिकारी, जगन्नाथ निरौला, प्रेमनाथ ठाकुर, नबिना कर्माचार्य लगायत रहेका छन ।
जसमा गोबिन्द शर्माको सेवा अवधि १ वर्ष मात्र रहेकोले पनि १२ औं तहमा बढुवा नभए उनलाई अन्याय हुने देखिएको छ । उल्लेखित उम्मेदवार कर्मचारीबाट चार जनाको बढुवा हुने भएपनि बोर्डले जेष्ठता, कार्यसम्पादन, मूल्याङ्कनको आधारमा उनीहरुको बढुवा गर्ने पर्ने हुन्छ ।
बढुवाको लागि चतुर र राजनीतिक दलका नेतासँग सम्वन्ध र पहुँच भएकाहरुको नै बढुवा हुने संभावना बढी रहेको छ । सिनियर कर्मचारी पाण्डे, कर्ण र अधिकारी बढुवाको पहिलो नम्बरमा रहेका छन् । यसअघि महानिर्देशकको दौडमा समेत रहेका अधिकारी प्राधिकरणमा रहेर अकुत सम्पति कमाउने कर्मचारी मध्येमा पर्दछन् ।
नयाँ महानिर्देशकको लागि दौडधुप
आगामी पुस २४ गते प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको सेवा अवधि सकिंदैछ । उमेर हदका कारण क्षेत्रीको कार्यकाल सकिने लागेको भएपनि उनी पुनस् दोहोरिने सम्भावना पनि छ । चार महिना मात्र महानिर्देशक बनेका क्षेत्रीले कामको क्षमता प्रदर्शन गर्न नै पाएका छैनन् ।
तत्कालीन महानिर्देशक राजन पोखरेल गत भदौ महिनामा प्राधिकरणबाट अनिवार्य अवकास भएपछि सिनियर उपमहानिर्देशक रहेका क्षेत्रीलाई सरकारले २०७८ असोजमा महानिर्देशकको जिम्मेवारीमा दिएको थियो । गत असोज २४ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी मन्त्री प्रेमबहादुर आलेले सम्हालेका थिए।
प्राधिकरणको अध्यक्षसमेत रहेका मन्त्री आलेले दुई महिनासम्म पनि समय नदिंदा प्राधिकरणको बजेट ५ महिना बित्दा पनि पारित हुन सकेको थिएन । यस्तो विद्यमान अवस्थामा प्राधिकरणको महानिर्देशक पद हात पार्नको लागि सिनियर र जुनियर दुवै उपमहानिर्देशकहरुले दौडधुप गरिरहेका छन ।
हाल प्राधिकरणमा १२ औं तहमा भोला गुरागाईं, प्रतापबाबु तिवारी मात्र कार्यरत रहेका छन् । तर, ११ औं तहका प्रदीपकुमार अधिकारी पनि महानिर्देशकको लागि दौडधुपमा लागेका छन् । प्राधिकरणमा जेष्ठताका आधारमा नै महानिर्देशक हुने प्रचलन रहेकोले अधिकारीको दौडधुप केवल प्रचारका लागि मात्र भएको देखिन्छ ।
प्राधिकरणको महानिर्देशक को बन्ला ?
प्राधिकरणमा हाल सिनियर कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयान कार्यालयका महाप्रवन्धक भोला गुरागाईं रहेका छन् । अर्का सिनियर कर्मचारीमा नागरिक उड्डयान प्रशिक्षण प्रतिष्ठानको प्रमुख रहेका प्रतापबाबु तिवारी रहेका छन् ।
गुरागाईंको सेवाअवधि आगामी २०७८ फागुनमा सकिदैछ । यसकारण पनि तिवारी महानिर्देशकको बलिया दावेदार हुन । महानिर्देशक क्षेत्रीको पुनस् नियुक्ति भएन भने सबै भन्दा सिनियर कर्मचारीका नाताले गुरागाईं महानिर्देशक बन्ने छन।
दुई महिना पनि सेवा अवधि नभएका गुरागाईं रिङआउट भएको खण्डमा तिवारी नै महानिर्देशकका बलिया उम्मेदवार हुन । उता अधिकारी भने मन्त्री आलेलाई रकम बुझाएर महानिर्देशक बन्न खोज्दै छन्।






















