stcnepal long ad
ime life insurance
global ime bank long

अमेरिकाले नेपाल भ्रमण गर्ने नागरिकका लागि जारी गर्‍यो ट्राभल एड्भाइजरी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। अमेरिकाले आफ्ना नागरिकका लागि नेपाल यात्रासम्बन्धी ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै सतर्कता अपनाउन सुझाव दिएको छ।

मार्च ३१ मा जारी गरिएको नयाँ परामर्शअनुसार नेपाललाई लेभल–२ मा राखिएको छ, जसले यात्राका क्रममा थप सावधानी आवश्यक रहेको संकेत गर्दछ ।

गत भदौमा भएको जेनजी आन्दोलनलगायतका घटनापछि कडाइ गरिएको यात्रा परामर्श अहिले केही सहज बनाइएको हो।

एड्भाइजरीमा सेप्टेम्बर २०२५ देखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल शान्त भएको र सुरक्षा अवस्था क्रमशः सामान्यतर्फ फर्किएको उल्लेख गरिएको छ। यद्यपि, सहर केन्द्रित प्रदर्शन वा स्थानीय अशान्ति पुनः हुन सक्ने सम्भावनाप्रति भने सचेत गराइएको छ।

अमेरिकी पक्षले प्रदर्शनहरू कुनै पूर्वसूचना बिना सुरु हुन सक्ने र कहिलेकाहीँ हिंसात्मक रूप लिन सक्ने भन्दै आफ्ना नागरिकलाई भीडभाडयुक्त स्थानबाट टाढा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेको छ।

स्वास्थ्य सेवाका सन्दर्भमा काठमाडौँका अस्पतालहरू अन्य स्थानको तुलनामा राम्रो भए पनि अत्यधिक चाप, आवश्यक उपकरण र औषधिको अभाव तथा उपचारअघि शुल्क तिर्नुपर्ने अवस्थालाई चुनौतीका रूपमा उल्लेख गरिएको छ। साथै, विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने व्यवस्था नरहेको पनि स्पष्ट गरिएको छ।

यात्राका क्रममा आवश्यक औषधि आफैँसँग बोक्न र मेडिकल इभ्याकुएसनसमेत समेटिएको यात्रा बिमा गर्न अमेरिकाले सिफारिस गरेको छ। प्राकृतिक जोखिमबारे पनि चेतावनी दिँदै एड्भाइजरीमा नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम निरन्तर रहने उल्लेख गरिएको छ।

विशेषगरी मनसुन (जुन–सेप्टेम्बर) का समयमा भारी वर्षाले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने, जसले सडक यातायात र आपत्कालीन सेवामा अवरोध ल्याउन सक्ने जनाइएको छ।

prabhu mahalaxmi
kumari