citizens life insurance long ad
stcnepal long ad
national life
global bank

काठमाडौँको नयाँ पदमार्गमा ‘हाइकिङ’

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ। ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल टानेले पर्यटन प्रवर्द्धनका लागि काठमाडौँको नयाँ पदमार्गमा ‘हाईकिङ’ गरेको छ । टानले आफ्नो ४६औँ स्थापना दिवसका अवसरमा आज दक्षिणकाली नगरपालिका १ बोसनदेखि चम्पादेवी डाँडासम्म हाईकिङ गरेको हो ।

उक्त हाइकिङको काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा नेता केसीले नेपाल आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य भएकाले यसको विकासमा सरकार लाग्नुपर्ने बताउनुभयो । “ट्रेकिङ र हाईकिङले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्वास्थ्यलाई फाइदा पुग्छ”, नेता केसीले भन्नुभयो ।

उहाँले पर्यटन व्यवसायले राष्ट्रको आय–आर्जनमा समेत ठूलो सहयोग पुगेको उल्लेख गर्नुभयो । नेपाल हाईकिङका लागि सुरक्षित गन्तव्य भएको उहाँको भनाइ थियो । पूर्वमन्त्री केसीले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण काठमाडौँ वरपरको क्षेत्रलाई पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन व्यवसायीहरु लाग्नुपर्ने बताउनुभयो ।

टानका अध्यक्ष निलहरि बाँस्तोलाले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको धनी काठमाडौँ वरपरको क्षेत्रलाई मण्डला सर्किटका रुपमा विकास गर्न सके राजधानी काठमाडौँको पर्यटन प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन प्रवर्द्धनमा काठमाडौँको अन्य स्थानको तुलनामा कीर्तिपुर र दक्षिणकाली क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको उल्लेख गर्नुभयो ।

दक्षिणकाली र कीर्तिपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टान स्थानीय सरकारसँग हातेमालो गर्न तयार रहेको उहाँको भनाइ थियो ।

स्थानीय तहको गठनसँगै विकासका नाममा जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएकाले टानले नयाँ गन्तव्यको खोजीलाई तीव्रता दिएको छ ।

टानले भर्खरै सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका, काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका, धादिङको गङ्गाजमुना गाउँपालिका, गोरखा र लमजुङका पाँच स्थानीय तहलाई जोड्नका लागि नयाँ पदमार्ग निर्माण सम्पन्न गरिसकेको टानका महासचिव विनोद सापकोटाले जानकारी दिनुभयो ।

‘हाइकिङ’मा बागमती प्रदेशका पूर्वसंस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत लगायत पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाका अध्यक्ष, पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।

टानको स्थापना दिवसका अवसरमा आजै बोसनदेखि चम्पादेवी डाँडासम्म एक सय ५० भन्दा बढी पर्यटन व्यवसायीले हाईकिङ गरेका छन् ।

himalayan life insurance
igi long