stcnepal long ad
himalayan life insurance long ad

रामग्रामलाई पर्यटकीय क्षेत्र बनाइने

Nimb long ad
Prabhu Insurance Long Ad

नवलपरासी पश्चिम। नवलपरासीपश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रलाई ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक स्थलका रूपमा विकास गर्ने तयारी थालिएको छ ।

त्यसका लागि लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्डले बृहत् योजना अघि सारेका छन् । बृहत् लुम्बिनी क्षेत्रको परिकल्पनाबमोजिम तिलौराकोट, मायादेवी मन्दिर, अनोमाघाट, देवदह, रामग्रामलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत एवं पुरातत्वविद् हिमालकुमार उप्रेतीका अनुसार रामग्राम बुद्धको अस्थिधातु राखेका आठमध्ये एक स्थल हो । “बौद्ध साहित्यमा उल्लेख भएबमोजिम सम्राट् अशोकले ८४ हजार स्तूप बनाउने क्रममा सात स्तूपबाट अस्थिधातु निकालेका थिए ।

रामग्राममा भएको अस्थिधातु निकाल्न खोज्दा नागराजले संरक्षण गरेर राखेको पाए,” उहाँले भन्नुभयो । उहाँका अनुसार अशोकले स्तूप खोतल्न खोज्दा नागराजले अशोकलाई आफूले अस्तु संरक्षण गरेर राखेको र आफूले जस्तै शुद्ध गरेर राख्न सक्ने भए मात्र लैजान भन्दै नभए अनिष्ट हुने सूचना दिएका थिए । त्यसपछि अशोकले अस्थिधातु नलिएको र रामग्राममा सुरक्षित रहेको विश्वास छ ।

तर रामग्राममा रहेको बुद्धको अस्थिधातु भए नभएको विषयमा कुनै खोज अनुसन्धान गरिएको छैन । “रामग्राम क्षेत्रमा अस्थिधातु छ छैन भन्ने हेरिएको छैन ।

वैज्ञानिक खोज अनुसन्धान भएको छैन,” उहाँले भन्नुभयो, “गत नोभेम्बरमा पुरातत्व विभाग, लुम्बिनी विकास कोषसहित विभिन्न सङ्घ संस्थाले स्तूपभन्दा केही पर भवनको भग्नावशेष फेला पारे । ती सबै अनुसन्धान भएपछि मानव गतिविधि भएको थाहा पाइयो ।”

यस अवस्थामा रामग्रामको स्तूप क्षेत्रको उत्खनन भएपछि धेरै विषय प्रस्ट हुने बताउँदै उहाँले त्यसपछि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

चिनियाँ यात्री फासियान (पाँचौँ शताब्दी) र हुएन साङ(सातौँ शताब्दी) को यात्रा विवरणका आधारमा बुद्धका आठ अस्थिधातु राखी बनाएका आठ वटा स्तूपमध्ये यो रामग्राम एक हो भन्ने गरिएको छ ।

द प्रोमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीका अनुसार अवधारणागत योजना भइसकेकाले पहिलो चरणमा सम्पदा क्षेत्रको प्रभाव मूल्याङ्कन (एचआइए) गरिने बताउनुभयो । “स्तूपको क्षेत्र तीन सय मिटर मात्रै छ ।

हामीले दुई किलोमिटर एचआइए गर्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो, “एचआइए गर्न पुरातìव विभागको टोली, युनेस्कोका प्रतिनिधि र लुम्बिनी विकास कोषका कर्मचारीले ड्रोनबाट सर्र्भेक्षण गर्नेछन् । अरू यन्त्रबाट परीक्षण गरिने छ ।”

अहिले अवधारणागत बृहत् योजना प्रस्तुत गरिएको बताउँदै उहाँले एचआइए नगरेसम्म विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउन नसकिने बताउनुभयो । उहाँका अनुसार रामग्रामको एचआइए पूरा गर्न चार महिना लाग्छ र त्यसपछि मात्रै डिपिआरको काम सुरु गर्न सकिन्छ ।

लुम्बिनी क्षेत्रमा २३० ऐतिहासिक पुरातात्त्विक क्षेत्र रहेको मानिए पनि अहिलेसम्म २२ वटा मात्रै पत्ता लागेका छन् । लुम्बिनी क्षेत्रका जुनसुकै स्थानमा ऐतिहासिक पुरातात्त्विक वस्तु तथ्य फेला पर्न सक्ने भएकाले यहाँ उत्खनन र अरू गतिविधि गर्दा संवेदनशील हुनुपर्ने अवस्था छ ।

रामग्राम क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न व्यक्तिका नाममा रहेको ११७ बिघा जमिन अधिग्रहण गरी लुम्बनी विकास कोषका नाममा राख्ने तयारी छ । जग्गा अधिग्रहण गर्न मात्र करिब एक अर्ब ५० करोड र संरचना निर्माणका लागि साढे पाँच अर्ब रुपियाँ लग्ने अनुमान छ ।

रामग्राम योजनामा स्तूप क्षेत्रको तीन  सय मिटर क्षेत्र र दीप प्रज्वलन क्षेत्रमा  कुनै  संरचना बनाइने छैन । चार कुनामा चार स्तूप बनाइने छ । रामग्राम स्तूप क्षेत्रमा ध्यान केन्द्र, १६ वटा विभिन्न देशका विहार बनाउने योजना छ ।

यस क्षेत्रमा पूरै हारियाली बनाएर तीर्थयात्री बसेर पूजा गरेर दीप प्रज्वलन गर्ने व्यवस्था गरिने छ । लुम्बिनी कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्रामलाई देशको गौरवका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।

“प्रधानमन्त्रीबाट दीप प्रज्वलन भएपछि पक्कै पनि यो आयोजना निर्माण गर्न सहयोग पुग्ने विश्वास छ । यो एतिहासिक क्षेत्रबाट बुद्धको सन्देश विश्वभर फैलाइने छ,” उहाँले भन्नुभयो, “यो संसारभरका बौद्धमार्गीले दर्शन गर्ने आस्थाको धरोहर हुने छ ।”

रामग्राम नगरपालिका प्रमुख धनपत यादवले रामग्राम क्षेत्रको विकास भएमा पर्यटकको बसाइ लम्ब्याउन सकिने बताउनुभयो । उहाँले बौद्ध स्तूप क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर आर्थिक लाभ लिन सकिने उल्लेख गर्नुभयो ।

हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दीप प्रज्वलन गर्नुभएको छ । त्यसयता उक्त स्तूप क्षेत्रमा दैनिक शान्ति दीप बालेर विश्व शान्तिको कामना गरिँदै आएको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।