भरतपुर महानगरले भरतपुर भ्रमण वर्ष २०२४ मनाउने

काठमाडौँ । भरतपुर महानगरले पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्न भरतपुर भ्रमण वर्ष २०२४ मनाउने भएको छ । भ्रमण वर्षको प्रचारप्रसारका लागि बुधबार काठमाडौं उत्रिएको महानगर पदाधिकारी सहितको टोलीले भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीसहित सम्बद्ध संस्थाका प्रतिनिधिसँग अन्तर्क्रिया गरेको छ ।
उक्त कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष अभियानले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्याउने बताउँदै यसको महत्त्वबारे उल्लेख गरेका थिए ।
उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रियस्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति पारित भइसकेको बताउँदै स्थानीय सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा भरतपुरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरमा पर्यटकीय क्रियाकलाप र गतिविधिबारे जानकारी गराएका थिए ।
उनले चितवन ईको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै भरतपुर महानगरले विशेष समारोह आयोजना गरी भरतपुर भ्रमण वर्ष २०२४ को आरम्भ गर्न लागेको बताए ।
भरतपुर महानगरको यो अभियानमा नेपाल सरकार, वाग्मती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको साथ रहेको महानगरले जनाएको छ ।