फिफा विश्वकप फुटबल–२०२२ मा कोस्टारिका छनोट
एजेन्सी । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल–२०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १–० गोलले हरायो ।
कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले निर्णायक गोल गर्नुभयो ।
क्याम्पबेलले तेस्रो मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । ६९औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटियो ।
त्यसपछि न्युजिल्यान्डको खेलमा फर्कने योजना सफल बन्न सकेन । कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ वटै टोलीको टुंगो लागेको छ ।
कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो । कतार विश्वकपमा कोस्टारिकाले समूह ‘ई’ बाट स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ । लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको कोस्टारिका छैटौं पटक विश्वकपमा छनोट भएको हो ।
पहिलो पटक १९९० को विश्वकपमा छनोट भएको कोस्टारिकाले त्यसपछि सन् २००२, २००६, २०१४ र २०१८ मा विश्वकप खेलेको थियो ।
कोस्टारिका २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो । फिफा विश्वकप आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारका हुनेछ ।