ला लिगा : जोङ र रिकी पुजको गोलमा बार्सिलोनाको सहज जित
एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले इल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इल्चेलाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सहज जित दिलाउनको लागि फ्रेन्क डी जोङ र रिकी पुजले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा पनि एक गोल थप्यो । खेलको ८९ औं मिनेटमा पुजले गोल थपे ।कप्तान लियोनेल मेस्से भने प्रतिबन्धका कारण उक्त खेलमा थिएनन् ।
स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए । एथलेटिको बिल्बाओविरुद्धको खेलमा मेस्सीले विपक्षी खेलाडीलाई हातले अनुहारमा हानेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यो घटनापछि उनले दुई खेलको प्रतिबन्ध भोगेका थिए ।
जितसँगै बार्सिलोनाले १९ खेलबाट ३७ अंक जोडेको छ । रिय म्याड्रिडको ४० अंक छ । रियल र बार्सिलोनाले समान १९ खेल खेलेका छन् । एट्लेटिको म्याड्रिड ४७ अंक सहित लिगको शीर्षस्थानमा छ ।





















