विश्वकप छनोट: अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो, मेस्सीको गोल ‘अस्विकार’
एजेन्सी । विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ । नेपाली समय अनुसार शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा रोकिएको हो । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो ।
खेलमा पाहुन टोली पाराग्वेले सुरुवाती अग्रता लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । पेनाल्टी क्षेत्र भित्र मिगुएल आल्मिरोनलाई लुकास मार्टिनेजले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्कायो । अर्जेन्टिनाका निकोलास इभान गोन्जालेजले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
५८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरेपनि पाराग्वेका खेलाडीले आपत्ती जनाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री–भारको सहायता लिएका थिए।
मेस्सीले डि बक्समा आएको बललाई पहिलो बार च्यापेर गोल गरेका थिए । तर भारमा मैदानको मध्य भागबाट बल अगाडि बढाउने क्रममा पाराग्वेका खेलाडीमाथि फल भएको भन्दै निर्णय उल्टिएको थियो ।
७३ औं मिनेटमा मेस्सीकै प्रहारमा गोलरक्षक एन्टोनि सिल्भाले उत्कृष्ट डाइभ बचाउ गरेपछि खेल बराबरी नै रहयो ।
यस बराबरीका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अर्जेन्टिनाको ३ खेलमा ७ अंक छ । दोस्रो स्थानको ब्राजिलको २ खेलमा ६ अंक छ भने तेस्रोमा रहेको इक्वेडरले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे पनि ३ खेलमा ५ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।





















