बार्सिलोनाका अध्यक्ष बर्तोमेउले दिए राजीनामा
एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्तोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्तोमेउले राजीनामा दिएका हुन् ।
क्लबका २० हजार भन्दा बढी सदस्यले उनलाई हटाउन माग गरी हस्ताक्षर संकलन गरेका थिए । क्लबको प्रदर्शन, आर्थिक अवस्था तथा खेलाडीसँगको सम्बन्धलाई लिएर उनको आलोचना हुँदै आएको थियो ।
बर्तोमेउ २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । उनको कार्यकाल आगामी मार्चमा सकिँदै थियो । बर्तोमेउको लियोनल मेस्सीसँगको सम्बन्ध राम्रो रहेको थिएन । मेस्सीले समेत क्लब अध्यक्ष जोसेप मारिया बर्तोमेउको सार्वजनिक आलोचना गर्दै आएका थिए ।
अध्यक्षसँगकै विवादका कारण मेस्सीले गत अगष्टमा क्लब छाड्ने निर्णय गरेका थिए । बर्तोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
























