stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बिग ब्यासमा सन्दीपको टोली परिवर्तन हुनसक्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अष्ट्रेलियाको आधिकारिक टि२० फ्रेन्चाइज लिग बिग ब्यास लिगको दशौं संस्करणमा नेपाली स्पिनर सन्दीप लामिछानेको टोली परिवर्तन हुने सम्भावना रहेको छ ।

अघिल्लो दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस सिजन भने आफ्नो सम्झौता नविकरण गरेका छैनन् । बिग ब्यासले अघिल्लो साता नयाँ अनुबन्धका लागि आव्हान गरेसँगै टोलीहरुले खेलाडीसँग छलफल थालिसकेका छन् । मेलबर्न स्टार्सले भने सन्दीपसँग सम्झौता नविकरण हालसम्म पूरा नभएको कारण उनको नाम टोलीमा समावेश गरेको छैन ।

मेलबर्नले अघिल्लो सिजन खेलेका कुनैपनि विदेशी खेलाडीसँग सम्झौता नविकरण गरेको छैन । सन्दीपसँगै दक्षिण अफ्रीकाका डेल स्टेन, पाकिस्तानका हारिस रौफ र दिलबर हुसेन तथा इंग्ल्यान्डका प्याट ब्राउनले स्टार्सका लागि खेलेका थिए । स्टार्स फाइनलमा सिड्नी सिक्सर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

यता सन्दीपलाई अन्य टोलीले पनि अनुबन्धनका लागि सम्पर्क गरेका कारण निर्णय लिन नसकेको बुझिएको छ । अघिल्लो दुई संस्करणमा स्टार्सको जर्सीमा देखिएका उनी फेरी पनि त्यसै टोलीमा रहने सम्भावना पनि छ । हाल केहि टोलीसँग छलफलमै रहेकाले निर्णय लिन केहि समय लाग्ने सन्दीपनिकट स्रोतले जनाएको छ ।

सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलावाजका लागि खेलिरहेका छन् । उनी त्यसपछि इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई प्रस्थान गर्नेछन् । दिल्ली क्यापिटल्ससँग सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीपले सिपिएल सकिएलगत्तै त्यसतर्फ प्रस्थान गर्नेछन् ।

अर्कोतर्फ नेपालको अन्तर्राष्ट्रिय खेल कम्तिमा २०२१ जनवरीसम्मका लागि स्थगित गरिएको छ । आइपिएलको पूरा समय टोलीसँग रहने सन्दीपले त्यसपछि बिग ब्यासमा जाने सम्भावना छ । यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि ६ फेब्रुअरी २०२१ सम्म हुने तालिका रहेको छ ।

नेपालको अन्तर्राष्ट्रिय खेल जनवरी २०२१ मा हुने सम्भावना रहेकाले पनि बिग ब्यासमा सन्दीपले पूरा समय खेल्न नपाउने हुन सक्छ । अघिल्लो सिजन स्टार्सका लागि लिग चरणमा पूरा खेलेका सन्दीप प्लेअफ र फाइनलमा भने उपस्थित हुन सकेका थिएनन् । सन्दीपले १३ खेलमा १५ विकेट हात पारेका थिए । त्यसअघि पहिलो सिजन सन्दीपले ८ खेलमा ११ विकेट लिएका थिए ।

अर्कोतर्फ बिग ब्यासमा दुई विदेशी खेलाडीको कोटा परिवर्तन गरेर तीनसम पुर्याउने सम्भावना रहेको छ । यसो हुँदा सन्दीपको अनुबन्धको सम्भावना बलियो छ । तर कोरोना भाइरसका कारण स्थिति कस्तो हुने अन्यौलता रहँदा केहि भन्ने अवस्था छैन ।

मेलबर्न मात्र नभएर अन्य सहभागी टोली विदेशी खेलाडी अनुबन्धन गर्न हतारिएका छैनन् । हालसम्म ब्रिसबेन हिटले इंग्ल्यान्डका टम ब्यान्टन र सिड्नी सिक्सर्सले इंग्ल्यान्डकै टम करनलाई टोलीमा समेटेको छ । राशिद खान, हरिस राउफ, लियाम लिभिंगस्टोन र एबी डे भिलियर्सले पनि पुरानै टोलीसँग सम्झौता गर्न सक्ने क्रिकेट डट कम डट एयुले जनाएको छ ।

prabhu mahalaxmi
kumari