भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन
काठमाडौँ । मुलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो ९पुम्से० प्रतियोगिता’को च्याम्पियन बनेको छ । तीन स्वर्ण, तीन रजत तथा पाँच कास्य पदक जित्दै मूलपानी च्याम्पियन बनेको हो ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितिामा एक स्वर्ण, दुई रजत र एक कास्यपदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कास्यपदक प्राप्त गरेको कैलाली तेस्रो भयो ।
प्रतियोगितामा कूल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस्तै स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रुपन्देहीले एक–एक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिनुभयो ।
प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औँ दक्षिण एशियाली खेलकूद ९साग० का कास्यपदक विजेता अस्मिन राउतले स्वर्ण जित्नुभयो । उहाँले ६ दशमलव ५३ अङ्क प्राप्त गर्नुभयो ।
चितवनका अब्बास खानले ५ दशमलव ९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५ दशमलव ८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५ दशमलव ६३ अङ्क प्राप्त गर्दै कास्य पदक पाउनुभयो ।
यस्तै यु–१८ महिला एकल तर्फ नेपाली सेनाकी रोशनी श्रेष्ठले ६ दशमलव ५० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । चितवनकी जैनब खातुनले ६ दशमलव २० अङ्कका साथ रजत तथा मूलपानीकी अस्मिता नगरकोटीले ६ दशमलव १३ अङ्क र सुनसरीकी सुदेशना गुरुङले ५ दशमलव ७६ अङ्क ल्याई कास्यपदक प्राप्त गर्नुभयो ।
यसैगरी यु–३१ पुरुष एकलतर्फ नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्णपदक जित्नुभयो । उहाँ १३औँ सागको कास्य पदकधारी समेत हुनुहुन्छ । सागका कास्यपदकधारी नेपाली सेनाका दीपेन्द्र गुरुङले ६ दशमलव ५० अङ्कका साथ रजत तथा मूलपानीका पुष्पप्रसाद गौतम ६ दशमलव २० अङ्क र दोलखाका नोर्बु मोक्तान ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य प्राप्त गर्नुभयो ।
यु–३१ महिला एकलतर्फ १३औँ सागका स्वर्ण पदक विजेताद्वय निता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो । सेनाकी निताले ६ दशमलव ७० अङ्कसाथ स्वर्ण तथा स्युचाटारकी सञ्जिलाले ६ दशमलव ५६ अङ्कसाथ रजत प्राप्त गर्नुभयो । सो स्पर्धामा मूलपानीकी चन्दु शाहीले ६ दशमलव १६ अङ्क र दाङकी सुनिता विष्ट ५ दशमलव ४३ अङ्क ल्याई कास्य पदक प्राप्त गर्नुभयो ।
यसैगरी पुरुष ४१ वर्षमाथिको उमेर समूहमा मूलपानीका मधुसुदन सापकोटाले ५ दशमलव ९० अङ्क प्राप्त गर्दै स्वर्ण जित्नुभयो । कैलालीका आशिष चन्दले ५ दशमलव ६० अंक ल्याइ रजत तथा रुपन्देहीका विकास उदयले ५ दशमलव ४६ अङ्क र गैरीगाउँका सोभितमान गिरीले ५ दशमलव ४६ अङ्क ल्याई कास्यपदक प्राप्त गर्नुभयो ।
आयोजक सङ्घका अध्यक्ष खड्काका अनुसार उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अशोक खड्का, मिन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । रासस






















