साफ महिला क्लब च्याम्पियनसिपः आज एपीएफको कराची सिटीसँग सामना गर्दै
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज एपीएफ क्लबले पाकिस्तानको कराची सिटीको सामना गर्दैछ । यो खेल आज नेपाली समय अनुसार दिउसो २ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।
जारी प्रतियोगितामा एपीएफले ३ खेलमा एक जित र एक बराबरी खेलेको छ । एपीएफले पहिलो खेलमा बंगलादेशको नासरिन क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरी खेलेको थियो । त्यसैगरी कराची सिटीले ३ खेलमा २ बराबरी र एक हार बेहोरेको छ ।
एपीएफ हाल अंकतालिकामा २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने भारतको इस्ट बङ्गाल २ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै कराची सिटी ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ । लिग खेलपछि शिर्ष दुई स्थानमा रहने क्लबबीच फाइनल खेल हुने छ ।





























