नेपाल सुपर लिग : ललितपुरलाई हराउँदै काठमाडौँ प्लेअफमा
काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० को प्लेअफ समीकरण पूरा भएको छ । आज शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको लिग चरणको अन्तिम खेलबाट काठमाडौँ रेजर्स एफसी प्लेअफमा पुग्यो ।
प्लेअफ पुग्ने अन्तिम टोली बनेको काठमाडौँले ललितपुर सिटी एफसीलाई १(० गोलले हरायो । काठमाडौँका लागि पहिलो हाफको इन्ज्युरी समयमा आन्द्रेस नियाले गरेको गोल निर्णायक भयो ।
निकै प्रतिस्पर्धात्मक खेलको ७५ औँ मिनेटमा काठमाडौँका अमित तामाङले रेड कार्ड पाउँदै बाहिरिए भने ललितपुरले त्यसको फाइदा उठाउन सकेन । काठमाडौँको जितले ८ खेलमा १० अङ्क भएर पनि गोल अन्तरका आधारमा झापा एफसी बाहिरिएको छ ।
यो जितसँगै काठमाडौँ ८ खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि नै प्लेअफ पुगिसकेको ललितपुर यो हारले ८ खेलमा १० अङ्कसहित चौथो स्थानमा झरेको छ ।
ललितपुरको हारले धनगढी एफसीलाई फाइदा भएको छ । धनगढीले ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको छ । पोखरा ८ खेलमा १५ अङ्कसहित शीर्ष स्थानमा छ ।
एनएसएलको क्वालिफायरमा पर्सि सोमवार पोखरा र धनगढीबीच खेल हुनेछ । यो खेल जित्ने टोली फाइनलमा पुग्नेछ । यो खेल हार्ने टोलीले फाइनल प्रवेशका लागि आउँदो बिहीवार एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा मङ्गलवार ललितपुर र काठमाडौँ बीच खेल हुनेछ ।