भारतलाई हराउँदै बंगलादेश यू–१९ एसिया कपको फाइनलमा
बंगलादेश यूएईमा जारी एसिसी यू–१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा गत संस्करण विजेता भारतलाई ४ विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको हो । ऊ दोस्रोपटक यू–१९ एसिया कपमा पुगेको हो ।
सेमिफाइनलमा भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४५।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि आरिफुल इस्लामले ९४,अहरर अमीनले ४४ र चौधरी मोहम्मद रिजवानले १३ रन बनाए । भारतका लागि नमन तिवारीले तीन र राज लिम्बानीले दुई विकेट लिए ।
यूएईविरुद्ध पाकिस्तानले खराब ब्याटिङ गरेको छ । १९३ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानले डेढ सय रन नकटाउँदै महत्वपूर्ण ७ विकेट गुमाइसकेको छ ।
त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको भारत ४२.४ ओभरमा १ सय ८८ रनमै समेटिएको हो ।
उसका लागि मुर्गन अभिषेकले ६२, मुशीर खानले ५०, प्रियांशु मोलियाले १९, सचिन दासले १६ र राज लिम्बानीले अविजित ११ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बंगलादेशका लागि मारुफ मृधाले चार, शेख पावेज जीवन र रोहनत दौल्लाह बोर्सनले दुईरदुई तथा महफुजुर रहमान रब्बीले एक विकेट लिए । भारत समूह ‘ए’ विजेता तथा बंगलादेश समूह ‘बी’ विजेताको रूपमा सेमिफाइनल पुगेका थिए ।
नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणमा नेपालले पाकिस्तानसँग ७ विकेट, अफगानिस्तानविरुद्ध ७३ रन तथा भारतविरुद्ध १० विकेटको हार बेहोरेको थियो ।