आर्सनलको पीएसभीमाथि फराकिलो जित

च्याम्पियन्स लिगको समुह चरणको खेलमा प्रिमियर लिग क्लब आर्सनलले पीएसभीमाथि चार शुन्यको फराकिलो जित निकाल्न सफल भएको छ ।
आर्सनलले घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो । खेलको आठौं मिनेटमा नै बुकायो साकाको गोलमा आर्सनलले अग्रता बनायो । साकाले च्याम्पियन्स लिगको डेब्यु खेलमा नै गोल गर्न सफल भए ।
त्यसपछि २० औं मिनेटमा ट्रोसार्डले गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे । ३८ औं मिनेटमा गाब्रियल जिससले गोल गरेपछि आर्सनल पहिलो हाफमा तीन गोलको अग्रता लिन सफल भयो ।
पहिलो हाफमा आक्रामक खेल खेलेको आर्सनलले दोस्रो हाफमा पनि त्यसलाई कायम राखेको थियो । बल पोसेसनमा पनि उत्कृष्ठ रहेका आर्सनलले ७९ औं मिनेटमा खेल चार शुन्यमा पुर्यायो ।
उसका लागि ओडेगार्डले गोल गरेका थिए । त्यसपछि पीएसभी खेलमा फर्कन सकेन र आर्सनलले निकै सहज जित दर्ता गर्यो ।
४ असोज २०८०, बिहीवार ०५:३३ बजे प्रकाशित