citizens life insurance long ad
stcnepal long ad
national life

प्रधानमन्त्री प्रचण्ड टेबुल टेनिस खेलमा माहिर

Prabhu Insurance Long Ad

काठमाडौं ।  प्रधानमन्त्री  पुष्प कमल दाहाल ‘प्रचण्ड’ तथा नेकपाका अध्यक्ष राजनीतिमा मात्र होइन । खेलकुदमा पनि उनको सक्रियता र चासो ठूलो छ । प्रचण्ड पनि हाइस्कूल पढ्दा फुटबल खेल्थे । हाइस्कूल सकेपछि उनले भलिबल खेले । बिएस्सी पढ्दा टेबल टेनिस (टिटी) खेल्न थालेका प्रचण्ड अहिले पनि टिटीमा रम्छन् ।

शान्ति सम्झौतापछि खुला राजनीतिमा आएका प्रचण्डले नयाँ बजार काठमाडौंको डेरामा पनि टिटी बोर्ड राखेर खेल्न सुरु गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री हुँदा पनि टिटी छाडेनन् । बालुवाटारमा टिटीका लागि छुट्टै घर बनाएर उनी दैनिक बिहान टिटी खेल्थे ।

यो क्रम लाजिम्पाट निवास हुँदै अहिले ललितपुर खुमलटारमा पनि जारी छ । सुदिल प्रचण्डलाई सिकाउन र सँगै खेल्न बिहानै प्रचण्ड निवासमा जान्छन् । जाडो महिनामा ६ः०० बजे र गर्मीमा ५ः३० बजे नियमित सुदिल प्रचण्ड निवासमा पुगिसक्छन् । त्यतिबेला प्रचण्ड पनि खेल्नका लागि तयार भइसक्छन् ।

‘प्रचण्डको टिटीमा विशेष दख्खल छ ।  प्रशिक्षकको  हिसावले पनि मलाई उहाँ अब्बल खेलाडी लाग्छ । टेनिस र राजनितिमा केही समानता छन् । टिटीमा बल हान्न ‘क्वीक डिसिजन’ लिनु पर्छ ।

सायद राजनितिमा पनि त्यस्तै डिसिजन चाहिन्छ होला । उहाँमा ‘राइट टाइम राइट डिसिजन’ लिने क्षमता छ, टिटीले नै गर्दा होला । जस्तो सुकै व्यस्तता भएपनि उहाँ हरेक बिहान टिटी खेलेर मात्र दैनिकी सुरु गर्नुहुन्छ ।

कुनै बाध्यात्मक अवस्थाबाहेक उहाँले टिटी नखेलेको दिन हुन्न । मैले जस्तै प्रचण्डलाई कमल थापामगर (असई) ले पनि टिटीका लागि सुरु देखिनै साथ दिँदै आउनु भएको छ,’ प्रशिक्षक सुदिल भन्छन् ।

टिटी खेलले प्रचण्डको युरिक एसिड रोग पनि निको भएको छ । खेल्न थालेपछि नरोकिइकन ४५ मिनेट लगातार खेल्छन् । ‘खेलेर असिन पसिन भएपनि उहाँमा थकाइको कुनै भान पाइन्न । खेल सुरु गरेदेखि नसकुन्जेल लगातार खेलिरहनु ठूलो कुरा हो ।

खेलका क्रममा प्रचण्डको हाउभाउ अन्तर्राष्ट्रिय खेलाडीको भन्दा कमी हुन्न । दिनभर प्रचण्डलाई जागरुप बनाउने काम टिटीले नै गर्छ । खुशीसाथ खेल्ने उहाँको बानीले मलाई समेत लोभ्याउँछ,’ प्रशिक्षक सुदिल भन्छन् ।

टिटीमा प्रचण्डसँग जोडिन पाउनु आफ्ना लागि जीवनकै ठूलो कुरा भएको सुदिलको बुझाइ छ । ‘बोर्डमा हारजीतको लडाइँ रमाइलो हुन्छ । प्रचण्डको खेल्ने क्षमता बेजोडको छ ।

उमेरले ६७ बर्ष लागेपनि उहाँको प्रदर्शन कुनै चर्चित भेट्रान्स खेलाडीको भन्दा कम छैन,’ सुदिलले भने । प्रधानमन्त्री हुँदा प्रचण्डले पाकिस्तानका अन्तर्राष्ट्रिय खेलाडी अरिफ खानसँग टेबुल टेनिस खेलेको फोटो विश्वभरि फैलिएको थियो ।

ललितपुर, पुल्चोकका रैथाने सुदिल शाही टेबलटेनिस (टिटी) का अब्बल खेलाडी मात्र नभई खेल क्षेत्रमा सक्रिय सुदिलको पछिल्लो परिचय नेपाली राजनितिका केन्द्रविन्दु एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का टेबुल टेनिस प्रशिक्षकका रुपमा रहेको छ ।

कीर्तिपुर, काठमाडौंको लेबोरेटरी स्कुल पढेका सुदिल बाल्यकालमा भने फुटबलका पारखी थिए । तर, उनले कक्षा ९ मा पुगेपछि फुटबल छाडे । यसको पछाडिको कारणबारे उनी भन्छन्, ‘टिम गेममा एउटाको मात्र मिहेनतको अर्थ नहुने ।’

बरु एक्लैले गर्न सक्ने खेलमा लाग्ने सोच उनमा पलायो । लेबोरेटरी स्कुल पनि खेलमैत्री थियो । विभिन्न खेल खेल्न पाउने भएकोले सुदिलको ध्यान फुटबल मैदानबाट टेबुल टेनिसमा बोर्डमा मोडियो ।

सुदिल कक्षा ९ पढ्दा बालदिवसको अवसरमा खेलकुद प्रतियोगिता आयोजना भएको थियो । उनी पहिलो वर्षनै टेबुल टेनिसमा च्याम्पियन भए ।

कक्षा १० मा पनि उनी टिटीमा एक्लो विजेता बने । त्यसपछि उनले टिटीलाई नै अँगाले । २०४३ सालमा राष्ट्रिय जुनियर च्याम्पियन बनेपछि सुदिलले टिटी बोर्डबाट आफुलाई पछाडी फर्केर हेर्नु परेको छैन । विद्यालयदेखि स्नातकोत्तर (एमए) सम्म पढाइ र टेबुल टेनिस खेललाई सँगै अगाडी बढाएका थिए ।

१५ वर्ष राष्ट्रिय टोलीबाट खेलेका उनले टिटी खेलमा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय उपाधि हात पारेका छन् । खेलाडी हुँदै उनी टिटीका प्रशिक्षक, ब्यवस्थापक, ललितपुर जिल्ला टिटी संघका अध्यक्ष, टिटी संघको केन्द्रीय सदस्य र हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्यको रुपमा हाल सक्रिय छन् ।

सुदिल शाही टेबुल टेनिस खेलका कुशल प्रशिक्षक पनि हुन् । २०५८ सालदेखि प्रशिक्षकको रुपमा सक्रिय सुदिल विगत आठ बर्षदेखि ललितपुर जिल्ला टिटी संघको अध्यक्ष छन् । ललितपुर जिल्ला टिटी खेलको लागि नेपालको नमुना जिल्ला हो ।

हालै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा मात्र ललितपुरका पाँच जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सुदिलकै अग्रसरतामा ललितपुरमा तीन वटा टिटी एकेडेमी सञ्चालित छन् । उनले एभीएम टिटी क्लब स्थापना गरी नियमित ६० जना खेलाडीलाई अभ्यास र प्रशिक्षणको  व्यवस्था पनि गरेका छन् ।

त्यसैले त ललितपुरबाट धेरै टेबुल टेनिस खेलाडीहरु उत्पादन भएका हुन । ललितपुरका खेलाडीले राष्ट्रिय टोलीमा समेत योगदान पु¥याएका छन् । टेबुल टेनिस खेलको लगावका कारण १३औँ सागमा सुदिल टेबुल टेनिस खेलको संयोजक बनाइएका थिए ।

लैनचौर काठमाडौं स्थित लथालिङ बनेको लथालिङ बनेको प्रशिक्षण केन्द्रलाई सागमा खेल्न योग्य बनाए । भौतिक पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा सक्रिय सुदिल शाही साग टेबुल टेनिसमा नेपालले ऐतिहासिक उपलब्धि हात पारेपछि खुशी भएका छन् ।

‘यस पटक हामीले एक रजत र पाँच वटा काँस्य पदकबाट सम्मान हुनु पाउँदा ज्यादै नै खुशी भएका छन । नेपाली टेबुल टेनिसमा यो अहिले सम्मकै ठूलो उपलब्धि हो । सागका लागि मैले गरेको मिहेनत काम लाग्यो जस्तो लाग्छ । २० वर्षअघि बनेको टेबुल टेनिस हललाई सागको मुखैमा आएर खेल्न योग्य बनाउनु कम चुनौतीपूर्ण थिएन,’ ५१ वर्षीय सुदिल शाही भन्छन् ।

सुदिललाई सागमा सक्रिय बन्न आठौँ राष्ट्रिय खेलकुदमा प्रदेश तीनको संयोजकको जिम्मेवारीले पनि सहज बनायो । नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदका लागि सुदिलले प्रदेश नम्बर ३ को कमाण्ड सम्हालेका थिए ।

चितवनमा १३ जिल्लाको छनोट प्रतियोगिता गरेर आठौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्नमा उनको भूमिका उल्लेख्य थियो । चितवनमा उद्घाटन गरिएको छनोट खेल नुवाकोटमा सम्पन्न भएको थियो । आठौँ राष्ट्रिय खेलकुदमा ३ नम्बर प्रदेश तीन वटा विभागीय टोलीपछि समग्रमा चौथो भएको थियो ।

पाँच वर्षअघि माओवादी नेत्री कमला रोक्का युवा तथा खेलकुद मन्त्री बनिन् । कमलासँग सुदिल शाहीको राम्रो चिनजान थियो । कमलाले सुदिललाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि टेबुल टेनिस खेल्छन् भनेर सुनाएकी थिइन् । २०७१ साल भदौमा सुदिलका साथी महेन्द्रबहादुर शाही (कर्णाली प्रदेशका मुख्यमन्त्री) ले सुदिललाई प्रचण्डसँग भेट गराए ।

प्रचण्डसँगको पहिलो भेटमै सुदिलले प्रचण्डलाई ‘तपाईं टिटी खेल्नु हुन्छ रे नि’ भनेर प्रश्न गरे । टिटीका नियमित खेलाडी प्रचण्डलाई सुदिलको त्यही प्रश्नले आकर्षित ग¥यो । सुदिलले पनि आफु टिटीका खेलाडी र प्रशिक्षक भएको सुनाए । त्यही दिनदेखि प्रचण्डले सुदिलसँगै टिटी खेल्ने निर्णय गरेका थिए ।

सुदिलका अनुसार प्रचण्डले भेट भएको भोलिपल्ट बिहानसँगै टिटी खेल्न अनुरोध गरे । प्रचण्डले टिटी खेल्न बोलाएको त्यस रात सुदिललाई निन्द्रा लागेन । ‘साथीको सहायतामा पहिलो पटक भेट्न पाएको यति ठूलो मान्छेले सँगै टिटी खेल्न बोलाउँछन् भन्ने मेरो कल्पनामा थिएन । यत्रो जनयुद्ध गरेर आएको मान्छे ।

राष्ट्रिय राजनीतिको पावर सेन्टर । नेपाली राजनीतिको मुख्य खेलाडीसँग टिटी खेल कसरी खेल्ने होला भन्ने खुल्दुली रातभर भयो । भोलिपल्ट बिहानै उठेर प्रचण्ड निवास लाजिम्पाट पुगेँ । मनमा खुल्दुली र हल्का डर थियो ।

तर पनि उहाँको घरमै रहेको बोर्डमा टिटी खेल्यौँ । उहाँ मैले सोचेभन्दा धेरै राम्रो र सहज खेलाडी हुनुहुँदोरहेछ,’ सुदिलले भने । त्यसदिन देखि सुरु भएको सुदिल र प्रचण्डको टिटी जोडी अहिलेपनि निरन्तर जमिरहेको छ ।

प्रचण्डका टिटी गुरु सुदिलले जीवनको अन्तिमसम्म खेलकुदमै लाग्ने अठोट गरेका छन् । टिटी खेलमै पहिचान पाएका उनी  अहिले  टिटी खेलकै लागि भौतिक संरचना निर्माणमा लागि परेका छन् ।

‘ललितपुरलाई टिटी खेलमा देशकै नमुना बनाएँ । भविष्यमा राम्रा खेलाडी उत्पादन गर्न चितवनमा अन्तर्राष्ट्रि«य स्तरको बहुउद्देश्यीय कभर्डहल निर्माणको तयारीमा छु । यसका लागि जापान, चीन र थाइल्यान्डबाट पनि सहयोग हुनेछ,’ भनी सुदिल शाहीले विचार व्यक्त गरेका थिए ।

सुदिल अहिले नेपाल स्पोर्ट्स सोसाइटीका अध्यक्ष समेत हुन् । उनले यही सोसाइटी मार्फत चितवनमा कभर्डहल बनाउन लागेको बताए । त्यसका लागि जग्गा समेत पाईसकेकाले छिट्टै कभर्डहल बनाउने काम सुरु हुनेछ ।

‘१३औं साग हतारमा सम्पन्न गर्न कठिन भयो । हाम्रो लक्ष्य अब एसिएन र ओलम्पिक गेम्समा कसरी सफलता पाउने भन्नेमा केन्द्रित हुनु पर्दछ । समयमै योजनासहित काम गर्नुपर्छ । जुनियर खेलाडी उत्पादन गर्न सके खेलकुद राम्रो हुने हो ।

देशका ठूला नेताले खेलकुदमा चासो देखाएको बेलामा हामीले पनि काम गर्न सक्नुपर्छ,’ प्रचण्डका खेल सारथी सुदिलले योजना सुनाएका थिए ।

himalayan life insurance
igi long