कांग्रेसको प्रदेश नं २ को सभापतिमा कृष्ण प्रसाद यादव विजयी
काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं. २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण प्रसाद यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि हिजो भएको मतदानमा पार्टीका प्रदेश २ संसदीय दलका नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्ण प्रसाद यादव विजयी भएका छन् ।
उनले १ सय ४१ मतान्तरले राम सरोज यादवलाई पराजित गरेका छन् । गएराति ११ बजेदेखि भएको मतगणनामा विजेता कृष्णले ९ सय ९६ मत पाएका छन भने रामसरोजले ८ सय ५५ मत पाएका छन् । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।
पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार बिहान ९ बजेर ३६ मिनेटबाट राति ८ बजेसम्म मतदान भएको थियो । मतदानमा १९ सय ५१ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । बदर मत संख्या ३० रहेको छ । अन्य पदको मतगणना बाँकी रहेको छ । आज दिउसोबाट गणना गरिने बताइएको छ।
यस्तै नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सबै मतगणना बिहीबर राती सम्पन्न भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार केन्द्रीय सदस्य खस आर्य (महिला) ६ पदमा कान्तिका सेजुवाल १८८५, चम्पादेवी खड्का १९०६, नानु बास्तोला २००१, प्रतिमा गौतम १८९१, मञ्जु खाँण २१८१ र विद्यादेवी तिमिल्सिना १८२५ मतका साथ निर्वाचित भएका छन । सो पदमा कुल ३१ जनाले उम्मेदवारी दिएका थिए ।
खस आर्य (खुला) सात पदमा भने केशवकुमार बुढाथोकी २११५, गेहेन्द्र गिरि १८०३, गोविन्दबहादुर शाह २०७३, नारायणबहादुर कार्की १८३६, भीम पराजुली १९४७, मधु आचार्य १८४९, श्यामकुमार घिमिरे १९१९ मतका साथै निर्वाचित भएका छन । सो पदमा ४३ जनाले उम्मेदवारी दिएका थिए ।
यसैगरी केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला) सात पदमा अन्जनी श्रेष्ठ २१२४, गंगालक्ष्मी अवाल १८५७, माया राई १८७३, सरस्वती वजिमय २०४८, सिताकुमारी राना १८३५, सीता गुरुङ २३०७, सुशीला थिङ १७९५ मतका साथ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । सो पदमा ३३ जनाले उम्मेदवारी दिएका थिए ।
केन्द्रीय सदस्य आदिवासी जनजाति (खुला) आठ पदमा आङ गेलु शेर्पा १८९८, उमेश श्रेष्ठ २१४४, चीनकाजी श्रेष्ठ २३०८, टेकप्रसाद गुरुङ १७७८, टेकबहादुर गुरुङ (मनाङ) १९०६, तारामान गुरुङ १९७६, दिलमान पाख्रिन १९७६ र बहादुर सिंह (लामा) तामाङ २११४ मतका साथ निर्वाचित भएका छन् । केन्द्रीय सदस्य आदिवासी जनजाति (खुला) आठ पदमा ५० जनाको उम्मेदवारी परेको थियो ।
गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई यही पुस १० गते शनिबार विहान ११ वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित भएको प्रमाण पत्र वितरण गरिने समितिका सचिव केशव रिजालले जानकारी दिएका छन् ।























