stcnepal long ad
ime life insurance
national life
global ime bank long

लकडाउन खुकुलो बनाउन मोडालिटी बन्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार

सरकार लकडाउन खुकुलो बनाउने विभिन्न विकल्पसहितको नयाँ मोडालिटी निर्माणमा जुटेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले ७७ वटै जिल्लालाई कोभिड–१९ को उच्च जोखिम, जोखिम र सामान्य अवस्था गरी तीन श्रेणीमा विभाजन गरेर सोहीअनुसार लकडाउनको मोडालिटी बनाउन आन्तरिक गृहकार्य थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाली सेना लगायत कार्यदलमा सहभागी अधिकारीहरू लकडाउनको मोडालिटी निर्माणमा खटिएका छन् । वैशाख २५ सम्म संक्रमितको अवस्था र संक्रमित रहेका जिल्लाको वस्तुस्थिति विश्लेषण गरेर नयाँ रणनीति बनाउने गरी गृहकार्य थालिएको हो ।

प्रधानमन्त्री कार्यालयका सचिव तथा उच्चस्तरीय समितिका सदस्य सचिव नारायण बिडारीले पनि वैशाख २५ पछि कुन किसिमले अघि बढ्ने भन्नेमा लकडाउनका ३/४ वटा मोडालिटीमा छलफल सुरु गरिएको बताए । ‘वैशाख २५ सम्म कोरोना रोग रोकथाम तथा नियन्त्रणका प्रयास कुन तहसम्म पुग्छ, त्यसलाई सूक्ष्म अध्ययन गरेर सम्भावित विकल्पबारे छलफल थालेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘अहिले नै आन्तरिक छलफल र प्रस्तावबारे सार्वजनिक रूपमा बोल्नु त्यति उपयुक्त नहोला तर हामी जोखिम रहेका र नरहेका क्षेत्रमा अब कुन किसिमको रणनीति अपनाउने भन्नेमा चाहिँ सूक्ष्म छलफलमा जुटिसकेका छौं ।’

 

 

सम्भावित अवस्थाको आकलनका आधारमा तय गरिएका कार्ययोजना अहिले नै सार्वजनिक गर्न नमिल्ने उनले बताए । पछिल्लो लकडाउनको समयसीमा सकिनुअगावै कार्यदलले अघि सारेका मोडालिटी उच्चस्तरीय समिति र सीसीएमसी हुँदै मन्त्रिपरिषद्मा पेस हुनेछ ।

चैत ११ गतेदेखि लकडाउन लगाएपछि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र ठप्प छ । प्रशासनको अनुमतिबेगर मानिसको आवागमनमा रोक लगाइएको छ । नेपाल–भारत सीमा पूर्णरूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र बन्द भइसकेका छन् । तर विकल्पबिनै लकडाउनलाई निरन्तरता दिइए संकट सिर्जना हुन सक्ने देखिएपछि फरक ढंगमा यसको खाका बनाउन लागिएको हो ।

आगामी वैशाख २५ सम्म देशव्यापी रूपमा कडाइका साथ लकडाउन कार्यान्वयन गर्ने र त्यसपछि आवश्यकता, औचित्य र जोखिमलाई मध्यनजर गरेर क्षेत्रगत रणनीति अपनाउने गरी काम थालिएको मुख्यसचिव नेतृत्वको कार्यदलका एक सदस्यले जानकारी दिए ।

ती सदस्यका अनुसार हाल कोरोना संक्रमण फैलिएका जिल्लालाई ‘उच्च जोखिमयुक्त क्षेत्र’ घोषणा गरी बाँकीमा सामाजिक दूरी र आवश्यक स्वास्थ्य सावधानी अपनाएर आवतजावत तथा नियमित काम गर्ने बाटो खुलाउने रणनीति अघि सारिएको छ । कृषि, उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग र पूर्वाधार निर्माणको काम सुचारु गर्ने तर दीर्घरोगी र ६० वर्ष उमेर काटेका व्यक्तिलाई सडकमा हिँड्डुल गर्न बन्देज लगाउने विषयमा पनि छलफल चलेको छ । कोरोना संक्रमणको जोखिममा दीर्घरोगी र वृद्धवृद्धा रहेका कारण उनीहरूलाई सडकमा ननिस्कने व्यवस्था सम्बन्धित परिवारका सदस्यले गर्नुपर्ने र अटेर गरिए प्रशासनिक कारबाहीसम्म गर्नुपर्ने प्रस्तावमा पनि छलफल अघि बढेको छ ।

सामान्य अवस्थामा रहेका खासगरी हिमाली तथा पहाडी जिल्लामा वैशाख २५ पछि क्रमशः आवागमन खुकुलो बनाउँदै जाने र कम जोखिम रहेका सहरी क्षेत्रमा पनि पातलो गरेर हिँड्डुल तथा अत्यावश्यक सेवामा व्यापार/व्यवसाय गर्न दिनेबारे छलफल थालिएको छ । तर कोरोना संक्रमण सामान्य अवस्थामा नपुगेसम्म ठूला सपिङ मल, शैक्षिक संस्था, सवारीसाधन सञ्चालन गर्न दिने पक्षमा सरकार नरहेको ती अधिकारीको भनाइ छ ।

‘अहिलेसम्मको वस्तुस्थितिको समीक्षा गर्दा उपत्यकासहित हिमाली र पहाडी जिल्ला कोरोना संक्रमणको कम जोखिममा रहेको पाएका छौं, अब थपिने लकडाउनको मोडालिटी पनि त्यसअनुसार नै हुनुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ ती सदस्यले भने, ‘यद्यपि सामान्य र कम जोखिममा रहेका जिल्ला तथा इलाकामा पनि निश्चित उमेर समूह र दीर्घरोगीलाई सडकमा निस्कन नपाइने गरी सुरक्षा व्यवस्थापन गरिनेछ ।’

वृद्धवृद्धा र दीर्घरोगी कोरोना संक्रमणका उच्च जोखिममा रहेको विभिन्न स्वास्थ्य सर्वेक्षणले देखाइसकेकाले अब सरकारले प्रतिकार्य योजना लागू गर्दासम्म उनीहरूलाई खुला रूपमा हिँड्डुल गर्न नपाइने गरी रणनीति बनाउन लागिएको ती अधिकारीको भनाइ छ । नेपालमा हालसम्म ५७ जनामा कोरोना संक्रमण देखिएकामा १६ जना उपचारपछि निको भइसकेका छन् ।

दैनिकजसो संक्रमितको संख्या थपिने क्रममा रहेको र प्रदेश १ र २ का जिल्लामा यो अनुपात बढ्दो क्रममा रहेकाले ती जिल्लालाई सिल गरेर बाँकीमा खुकुलो बनाउँदै लैजानुपर्ने माग उच्चस्तरीय समिति, क्राइसिस म्यानेजमेन्ट सेन्टर, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयका आन्तरिक छलफल र बैठकमा पनि उठेको छ । तर सीमा नाका भने स्थिति सामान्य नभएसम्म बन्द नै गर्नेमा सबैको एकमत छ । पछिल्लो राजनीतिक घटनाक्रम र त्यसपछि सिर्जित परिस्थितिका कारण वैशाख २५ गतेपछि पनि देशभर लकडाउन हट्ने सम्भावना नरहेको र क्षेत्रगत हिसाबमा मात्रै खुकुलो बनाउने पक्षमा मन्त्रीहरू रहेको स्रोतको भनाइ छ । आजको कान्तिपुर दैनिकबाट

IME Lifesidebar
kumari