नेपाली औषधि उद्योगले ल्याउन लागेका कच्चा पदार्थ भारतले सीमामा रोक्ने

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार
बुटवल । महामारीका बेला सबैभन्दा अत्यावश्यक वस्तु हो, औषधि । तर लकडाउनले यही औषधि उत्पादनको कामसमेत रोकिएको छ । केहीले आंशिक रूपमा उद्योग चलाए पनि अधिकांश उद्योग ठप्प छन् । औषधि बनाउन कच्चा पदार्थ र रसायन चाहिन्छ । युरोप, चीन र छिमेकी देश भारतबाट ल्याउनुपर्छ । भारत हुँदै आउने औषधिका कच्चा पदार्थ र रसायन अहिले अड्किएका छन् । रकम बुझाइसकेका सामान केही ट्रान्सपोर्टमा र केही सीमा क्षेत्रमा रोकिएको उद्योगीले बताए ।
कच्चा पदार्थ र रसायनबिना औषधि उत्पादन गर्न नसकिएको उद्योगीको गुनासो छ । एसियन फर्मास्युटिकल्स प्रालिले झन्डै डेढ महिनाअघि २० करोडको कच्चा पदार्थ ल्याउन रकम बुझाएको थियो । चिनियाँ र भारतीय बजारबाट कच्चा पदार्थ आउँदै थियो । लकडाउन सुरु भयो । अहिले उक्त सामान कहाँ छ भन्नेबारे पनि थाहा नभएको प्रबन्ध निर्देशक हुतानन्द खनालले बताए ।
‘उद्योगमा रहेको स्टक सकिन लागेको छ । रकम तिरेर झिकाएको सामान कहिले र कसरी आउने हो, टुंगो छैन,’ उनले भने, ‘यस्तोमा उद्योग कसरी चलाउने भन्ने समस्या छ ।’ उनको उद्योगमा २ सय २७ मजदुर छन् । यसअघि दुई सिफ्टमा चल्ने उद्योग अहिले एक सिफ्ट चलेको छ ।
मजदुरहरू ५० प्रतिशत कटौती गरिएको छ । आधालाई एक दिन र आधालाई अर्को दिन बोलाइएको छ । ‘बिग्रिहाल्ने खालका काम मात्रै गरेका छौं,’ उनले भने, ‘ठूलो र महत्त्वपूर्ण उत्पादन गरेका छैनौं ।
’ लकडाउनले मुलुकका धेरै उद्योग तथा कलकारखाना ठप्प छन् । अत्यावश्यक वस्तुका रूपमा औषधि उद्योग सञ्चालन गर्न भने सरकारले आग्रह गरेको छ । तर भारतीय बजार र सीमा क्षेत्रका ट्रान्सपोर्टमा अड्किएका कच्चा पदार्थ र रसायन ल्याउन सहजीकरण गरेको छैन । यसले कसरी कच्चा पदार्थ ल्याउने र उद्योग सञ्चालन गर्ने भन्नेमा उद्योगी अन्योलमा छन् ।
औषधि उत्पादक संघका अनुसार नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आउँछ । २० प्रतिशत चीन तथा युरोपबाट आयात हुन्छ । तर सबै आउने बाटो भारतीय बजार हो ।
औषधि अरू खाद्य पदार्थजस्तो एक ठाउँबाट ट्रक भरी ल्याउन मिल्दैन । १०/१५ किलो कच्चा पदार्थ, ५।१० किलो रसायनका दरले धेरै ठाउँबाट ल्याउनुपर्छ । त्यस्तो झन्झट बेहोरेर भारतीय ट्रान्सपोर्टसमेत सामान उपलब्ध गराउन सहमत नभएको रूपन्देहीको सिद्धार्थ फर्मास्युटिकल्स प्रालिका प्रबन्धक गणेश पाठकले बताए । कान्तिपुर दैनिकबाट ।