stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ ।

जसबाट टेलिकमका प्रयोगकर्ताले आफ्नो अवस्था जानकारी दिनसक्ने छन् ।
नेपाल टेलिकमका अनुसार प्रयोगकर्ताले आफ्नो नम्बरबाट ८१४१९३ डायल गरेर त्यहाँ सोधिएको उत्तर दिनुपर्ने छ । टेलिकमले त्यहाँ चरणबद्ध प्रश्न सोध्ने व्यवस्था गरेको छ ।

ज्वरो आए नआएको, खोकी लागे नलागेकोजस्ता प्रश्न त्यसमा सोधिएको छ । उत्तरमा दुईवटा मात्र विकल्प राखिएकाले प्रयोगकर्ताले १ वा २ अङ्क थिचेर प्रश्नको जवाफ दिनसक्ने छन् ।
प्रयोगकर्ताबाट प्राप्त उत्तरको आधारमा टेलिकमले लक्षणको विश्लेषण गर्ने छ । उत्तरको आधारमा रातो, पहेँलो अथवा हरियो क्षेत्रमा नम्बर विभाजन गर्ने व्यवस्था गरेका छौँ, कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो ।

त्यसरी छुट्याइएको नम्बर टेलिकमले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई उपलब्ध गराउने छ । जोखिमयुक्त रातो क्षेत्रमा परेका प्रयोगकर्तालाई समितिबाटै सम्पर्क गर्ने व्यवस्था हुने उहाँले जानकारी दिनुभयो ।
अपरिचित नम्बरमा फोन नगर्न आग्रह
विगत केही दिनयता विदेशको अपरिचित नम्बरबाट फोन आउने क्रम बढेकामा त्यस्ता नम्बरमा फोन नगर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ । खासगरी त्यस्ता अपरिचित नम्बरबाट एक घन्टी मात्र फोन आउने र लिङ्कसहितको म्यासेज पनि पठाएको पाइएको प्राधिकरणले जनाएको छ ।
विगतमा पनि यस्ता अपरिचित नम्बरबाट फोन आउने गरेकामा त्यस्ता नम्बरबाट मिस्ड कल आएको देखेमा फोन नगर्न प्राधिकरणले प्रयोगकर्तालाई सुझाव दिएको छ ।

त्यस्तै म्यासेज नपढ्न र त्यहाँ आएका लिङ्क पनि नखोल्न प्राधिकरणले सचेत गराएको छ । प्रयोगकर्ता आफैँले फोन र म्यासेज नगरेसम्म त्यसबाट कुनै हानि नहुने प्राधिकरणले जनाएको छ ।
विगत केही दिनयता खासगरी नेपाली भाइबर प्रयोगकर्ताको नम्बरमा यस्तो एक घन्टीमै रोकिने गरी अपरिचित नम्बरबाट मिस्ड कल आएको पाइएको छ । पछिल्ला समय नेपालमा केही कम्पनीका ग्राहकका डेटा बाहिरिएपछि त्यहाँ प्रयोग भएको नम्बरमा यस्तो फोन आएको आशङ्का गरिएको छ ।

प्राधिकरणले त्यसरी बाहिरिएको फोन नम्बर तथा इमेलको दुरुपयोग नगर्न पनि यसअघि सचेत गराइसकेको छ । दुरुपयोग गर्नेलाई कानुन अनुसार कारबाही अगाडि बढाइने पनि प्राधिकरणले स्पष्ट पारेको छ । आजको गोरखापत्रबाट

prabhu mahalaxmi
kumari