citizens life insurance long ad
stcnepal long ad

चार्जिङ स्टेसन निर्माण थालिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले टेन्डर प्रक्रियाबाट चीनको जियाङ्सु जोङ्दोङ न्यु इनर्जी टेक्नोलोजी कम्पनी छनोट गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो ।प्राधिकरणले निर्माण कम्पनीलाई सम्झौताका लागि २८ दिनको म्याद सहितको पत्र पठाइसकेको जनाएको छ ।

कम्पनीलाई बैङ्क ग्यारेन्टी सहित सम्झौता गर्न पत्र ‘लेटर अफ इन्टेन’ (एलओआई) पठाइएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले भन्नुुभयो, “कम्पनी छनोट गरी सम्झौता गर्न आउन २८ दिनको म्याद सहित पत्र पठाइएको छ । अब छिट्टै सम्झौता भई काम सुरु हुन्छ । सम्झौता भएको एक वर्षमा निर्माण सकिनेछ । ”

एक वर्षअघि बोलपत्र आह्वान गरेको प्राधिकरणले अबको हप्ता दिनमा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउनेछ । ५० वटा स्टेसन निर्माणका लागि करिब ६० करोड रुपियाँ लागत अनुमान गरिएकोमा ग्लोबल टेन्डरमार्फत कम्पनीले करिब ३८ करोड रुपियाँको बोलपत्र दिएको थियो । सोही अनुसार सम्झौता हुने प्रवक्ता तिम्सिनाको भनाइ छ ।

देशभर ५० वटा स्टेसन निर्माण गर्न १३ वटा कम्पनीले परियोजना प्रस्ताव पेस गरेका थिए । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहनेछन् । ५० स्टेसनमध्ये सातवटा प्रदेशमा पाँच÷पाँचवटा, काठमाडौँ उपत्यकामा सात र बाँकी आवश्यकताका आधारमा पूर्वपश्चिम राजमार्गमा राखिनेछ ।

प्राधिकरणका अनुसार प्रदेश १ को भद्रपुर, दमक, कन्काई, इटहरी र विराटनगरमा  प्रदेश २ को वीरगन्ज, सिमरा, चन्द्रनिगाहपुर, ढल्केबर, जनकपुरधाम, बर्दिबास र राजविराजमा गण्डकी प्रदेशको नवलपुर (पूर्वी नवलपरासी), दमौली, स्याङ्जा र पोखरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ ।

त्यसैगरी लुम्बिनी प्रदेशको नेपालगन्ज, भालुवाङ, बुटवल, दाङ र बर्दघाट–सुनवलमास कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र डडेलधुरामा चार्जिङ स्टेसन निर्माण गरिनेछ ।

१२० किलोवाट र ६० किलोवाटसम्मका सवारीसाधनका लागि छुट्टाछुट्टै चार्जिङ प्रणाली विकास गरिने प्रवक्ता तिम्सिनाले बताउनुभयो ।
साधारण चार्जर प्रविधिले एउटा सवारीसाधन चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्ने गर्छ तर चार्जिङ स्टेसनमा १२० किलोवाटसम्मका सवारीसाधन बढीमा एक घण्टा २० मिनेटमा चार्ज हुने गर्छ । सवारीसाधन एक पटक पूर्ण चार्ज भइसकेपछि ३५० किलोमिटरसम्म गुड्न सक्छ ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार किलोवाट विद्युत् खपत हुनेछ । एकै पटक तीन सवारीसाधन चार्ज गर्न मिल्ने गरी स्टेसन निर्माण हुनेछन् ।

सुविधा सम्पन्न स्टेसन
मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्न सकिनेछ । चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्नेछ । कति मिनेटसम्म वा कति रुपियाँसम्मको चार्ज गर्ने हो, त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ ।

समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेसनको कन्ट्रोल काठमाडौैँबाटै हुनेछ । स्टेसनमा यात्रुहरू फ्रेस हुन खेल तथा खाना र खाजाको व्यवस्था हुनेछ ।

मोतीपुरमा विद्युुतीय बसको एसेम्बल
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा विद्युतीय बसको एसेम्बल राखिने भएको छ । नेपालको सुन्दर यातायात प्रालिसँग सहकार्य गरेर चीनको बीएके र एलडी मोटर्स कम्पनीले एसेम्बल प्लान्ट राख्ने भएका हुन् ।

नेपालमा एसेम्बल प्लान्ट राखेपछि एउटा विद्युतीय बसमा करिब ५० लाखसम्म सस्तो पर्ने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुुभयो । तर एसेम्बल प्लान्ट राख्न उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट ढिलाइ भइरहेको अध्यक्ष थापाको भनाइ छ ।

उहाँले भन्नुुभयो, “प्रधानमन्त्रीले पटक–पटक बोल्नुभएको छ । उहाँले चासो पनि दिनुभएको छ । त्यहीअनुसार हामीले मोतीपुरमा एसेम्बल प्लान्टको तयारी गरेका हौँ तर जग्गा उपलब्धलगायतका काममा ढिलाइ भइरहेको छ । सरोकारवाला निकायले छिटो पहल गरिदिनुप¥यो । ” आजको गोरखापत्र दैनिकबाट

IME Life
kumari