stcnepal long ad
ime life insurance
national life
global ime bank long

अप्टिकल फाइबर बिछ्याउने कामले गति लियो,पहिलो प्याकेजको काम यसै वर्ष सकिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बन्दाबन्दी र निषेधाज्ञा कारण करिब छ महिना ठप्प भएको अप्टिकल फाइबर बिछ्याउने कामले पुनः गति लिन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मध्य पहाडी लोकमार्गमा फाइबर बिछ्याउने परियोजना अन्तर्गतका विभिन्न काम फेरि सुरु हुन थालेको हो ।

तीनवटा प्याकेजमा विभाजन गरिएको उक्त परियोजनामध्ये प्रदेश एक, दुई र बागमती प्रदेशअन्तर्गत अहिले अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार असोजको सुरुदेखि नै परियोजनाले गति लिन थालेको हो ।

‘डीब्लूडीएम र राउटर जडानको काम लगभग सकियो,’ उहाँले भन्नुभयो, ‘अप्टिकल बिछ्याउने काम पनि अब सुरु गरेर यस आर्थिक वर्षभित्र त्यो प्याकेजको काम सक्छौँ । ’ यसबाहेक विद्युत्का पोलमार्फत अप्टिकल फाइबर जोड्ने काम पनि छिटै सुरु हुने उहाँले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणसँग पोल प्रयोग बापतको भाडाको विषय करिब टुङ्गो लागि सकेकाले छिटै नै करिब चार सय किलोमिटर फाइबर एडीएसएस मार्फत जोड्ने टेलिकमको तयारी छ ।

स्मार्ट टेलिकमबाट नेपाल टेलिकमले नै प्राप्त गरेको सुदूरपश्चिम र कर्णाली प्रदेशको प्याकेज तीनको परियोजनाका लागि टेन्डरको काम पनि अगाडि बढाइएको टेलिकमले जनाएको छ ।

प्रबन्ध निर्देशक अधिकारीका अनुसार उक्त प्याकेजका लागि एडीएसएसको बोलपत्र आह्वान भइसकेको छ । त्यस्तै माइक्रोवेभ र अन्डरग्राउन्ड नेटवर्कको पनि दुई हप्ताभित्रै बोलपत्र आह्वान गर्ने तयारीमा टेलिकम छ ।

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन पूर्वाधार तयार गर्ने उद्देश्यअनुसार मध्य पहाडी लोकमार्गलाई आधार मानेर अप्टिकल फाइबर बिछ्याउने परियोजना अघि सारिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको करिब १० अर्ब रुपियाँ लगानी गरेर अप्टिकल फाइबर बिछ्याउने गरी सेवा प्रदायकसँग सम्झौता गरेको थियो ।

टेलिकमसँग २०७३ असोज १२ गते पहिलो प्याकेजका लागि तीनवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने समझदारी भएको थियो । यद्यपि २०७६ जेठ पहिलो हप्तादेखि टेलिकमले उक्त परियोजनाको काम सुरु गरेको थियो ।

काम सुरु गरेको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता अनुसार आगामी वैशाखमा टेलिकमले यो काम पूरा गर्नुपर्नेछ । बन्दाबन्दी र निषेधाज्ञाका कारण काम ठप्प भएपछि असारसम्म पुनर्तालिकीकरण गरेर काम सम्पन्न गर्ने टेलिकमको योजना छ ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल बिछ्याउने उक्त परियोजनाअन्तर्गत भदौ मसान्तसम्म तीन सय दुई किलोमिटर मात्र बिछ्याइएको प्राधिकरणले जनाएको छ । सम्झौता बमोजिम उक्त प्याकेजमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्ने, २६ वटा डीडब्लूडीएम प्रणाली र ४८ वटा राउटर उपकरण जडान गर्नुपर्नेमा २५ वटा डीडब्लूडीएम र ३५ वटा राउटर जडान भइसकेको छ ।

जडानका लागि यसअघि भारतीय कामदारहरूले काम गरिरहेको निषेधाज्ञा कारण उनीहरू आउन नसकेपछि नेपाली कामदारबाटै अहिले काम भइरहेको टेलिकमले जनाएको छ ।

सम्झौता भएको दुई वर्षसम्म स्मार्ट टेलिकमले कुनै काम नगरेपछि ठेक्का सम्झौता रद्द गरेर नेपाल टेलिकमलाई नै प्रदान गरिएको सुदूरपश्चिम र कर्णाली प्रदेशसहितको प्याकेज तीनअन्तर्गत एक हजार ९९२ किलोमिटर फाइबर बिछ्याउने सम्झौता भएको छ । टेलिकमले बढीमा दुई वर्षभित्र यो परियोजना सम्पन्न गर्नुपर्नेछ ।

गण्डकी र प्रदेश पाँच अन्तर्गत अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी पाएको युनाइटेड टेलिकमले तोकिएको सम्झौताअनुसार काम नगरेपछि प्राधिकरणले ठेक्का रद्द गरेको थियो ।

प्राधिकरणको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा यूटीएलले रिट दायर गरेको त्यसको टुङ्गो नलागेसम्म ठेक्का रद्द गर्ने निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन ।

IME Lifesidebar
kumari