stcnepal long ad
global ime bank long

चिनीमा कालोबजारी : कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा चिनीमा चरम कालोबारी हुन थालेको छ । ठूला व्यापारी र चिनी उद्योगीको मिलेमतोमा कृत्रिम अभाव देखाएर चिनीमा चरम कालोबारी हुन थालेको हो ।

व्यापारीले पछिल्ला दिनमा चिनीको मूल्य पनि बढाएका छन् । केही दिनअघिसम्म ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा पाइने चिनी अहिले एक सय रुपैयाँसम्म पुगेको छ ।

नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा पर्याप्त चिनी हुँदा हुँदै पनि ठूला व्यापारी र केही उद्योगीको मिलेमतोमा अभाव सिर्जना गर्न खोजिएको बताए । ‘अहिले जानाजान अभाव सिर्जना गर्न खोजिएको छ, ठूला चाडपर्व नजिकिरहेको अवस्थामा अभाव देखाएर कालोबजारी गर्न खोजिएको छ, सरकारले समयमै यसप्रति ध्यान दिनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मुलुकभर सामान्य अवस्थामा मासिक २०/२५ हजार मेट्रिक टन चिनी खपत हुन्छ । ६० प्रतिशत चिनी घरायसी परियोजन र ४० प्रतिशत मिठाई उद्योगमा खपत हुन्छ ।

मन्त्रालयको तथ्यांक अनुसार १ जेठमा ६५ हजार ४ सय ९२ मेट्रिक टन चिनी मौज्दात थियो, जसमा चिनी उद्योगसँग ६३ हजार २ सय ७ मेट्रिक टन र साल्ट ट्रेडिङसँग २ हजार २ सय ८५ मेट्रिक टन चिनी मौज्दात थियो ।

यस्तै, चिनी व्यापारीहरूले पनि निरन्तर आयात गर्दै आएका छन् । गत असार मसान्तदेखि १४ साउनसम्म भन्सार नाकाबाट ४८ हजार मेट्रिक टन चिनी वैध रूपमा भित्रिएको थियो ।

त्यस्तै, अवैध रूपमा १ लाख २ हजार मेट्रिक टन चिनी नेपाल भित्रिएको पाइएको छ । यो तथ्यांक हेर्दा अहिले बजारमा चिनीको अभाव नहुनुपर्ने हो ।

उता, कोरोना भाइरस महामारीका कारण भएको करिब ४ महिना लामो लकडाउनमा मिठाई उद्योगहरू सञ्चालन हुन पाएनन् । लकडाउन अन्त्य भए पनि अधिकांश मिठाई उद्योग राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । मिठाई उद्योग बन्द हुँदा चिनी खपत आधा नै कम हुन्छ ।

अहिलेको अवस्थामा २० देखि २५ हजार मेट्रिक टन खपत हुने चिनी घटेर करिब ९ देखि १३ हजारमा झरेको छ । मन्त्रालयको १ जेठको तथ्यांकलाई आधार मान्ने हो भने ६५ हजार मेट्रिक टन चिनी करिब ५–६ महिनालाई पुग्नुपर्ने हो ।

१ जेठको तथ्यांकअनुसार ६३ हजार २ सय ७ मेट्रिक टन चिनी मौज्दात रहेकामा अहिले उद्योगहरूसँग करिब ३० देखि ३५ हजार बढी मेट्रिक टन चिनी मौज्दात हुनुपथ्र्यो ।

राम्रोसँग मिठाई उद्योगसमेत सञ्चाल नभएको अवस्थामा साढे १ महिना नपुग्दै उद्योगीहरूले चिनीको मौज्दात जम्मा ७ हजार मेट्रिक टन मात्र रहेको बताउन थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले चिनी उद्योगीहरूले चिनीको यकिन तथ्यांक नदिएको बताइन् । ‘केही दिनअघि मात्र ३६ हजार मेट्रिक टन मौज्दात रहेको भनिएकामा अहिले ७ हजार मेट्रिक टन मात्र मौज्दात रहेको जानकारी दिइएको छ,’ उनले भनिन् ।

अहिले बजारमा चिनी केही कम भए पनि अभावै हुने अवस्था भने नरहेको मन्त्रालयको भनाइ छ । पछिल्ला दिनमा भारतबाट दैनिक दुई–तीन गाडी चिनी भन्सारबाट आइरहेको उनले बताइन् ।

पछिल्ला दिनमा बजार अनुगमन प्रभावकारी हुन नसकेको आरोप लाग्दै आएको छ । बजार अनुगमन गर्ने कानुनी अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र स्थानीय तहलाई छ । बजार अनुगमन प्रभावकारी नहुँदा चिनी व्यापारी र उद्योगीले बर्सेनि चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरेर कालोबारी गर्ने गरेका छन् ।

मन्त्रालयकी प्रवक्ता केसीले वाणिज्य विभागको बजार अनुगमन प्रभावकारी नभएकै कारण व्यापारीले कालोबारी गर्न थालेको बताइन् । प्रभावकारी अनुगमन गर्न मन्त्रालयले विभागलाई निदर्शेनसमेत दिइसकेको उनले बताइन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ठूला व्यापारी र सरकारकै मिलेमतोमा चाडपर्वमा चिनीमा कालोबजारी गरेर उपभोक्तालाई ठग्ने गरेको आरोप लगाए । साल्ट ट्रेडिङलाई समयमै चिनी आयातका लागि अनुमति नदिने गरिएकाले पनि कालोबजारी हुने गरेको उनको भनाइ छ ।

‘जब बजारमा ठूला व्यापारी र चिनी उद्योगीले कालोबजारी गर्न थाल्छ अनि मात्र साल्ट ट्रेडिङले चिनी आयात गर्छ, त्यसैले पनि कालोबजारी हुने गरेको छ,’ तिमल्सिनाले भने । उनले सरकारले कडाइका साथ व्यापारीका ठूला भण्डारण स्टोरमा अनुगमन गर्नुपर्ने बताए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रबहादुर सुवेदीले बजार अनुगमन प्रभावकारी बनाउन नसकेको स्वीकार गरे ।

उनले अनुगमन गर्न जनशक्ति कम भएकाले उपभोक्ताले चाहे अनुसारको बजार अनुगमन गर्न नसकेको बताए । उनले कडाइका साथ अनुगमन गर्ने तयारीमा विभाग गरेको बताए ।आजको राजधानी दैनिकबाट

IME Lifesidebar
kumari