stcnepal long ad
global ime bank long

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले सुरु गरेको छ ।

सडक बोर्डले २०५२ सालदेखि ठेकेदार मार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । अहिले मुलुकका केही राजमार्गका विभिन्न आठ ठाउँमा ढाट लगाएर सडक दस्तुर सङ्कलन हुँदै आएको छ ।

सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले बिनाझन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पूर्णरूपमा स्वचालित हुने यो प्रणाली मार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’’ अहिलेसम्म सङ्कलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उहाँले बताउनुभयो ।

विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौँ लाइनमा लाग्नु पर्दैन । ‘‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’’ कार्यकारी निर्देशक बस्नेतले भन्नुभयो । सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।

आर्थिक वर्ष २०७६/७७ मा सडक उपभोग दस्तुरबापत ३५ करोड ४० लाख ७६ हजार ८१९ रुपियाँ सङ्कलन भएको छ । बोर्डका अनुसार गत आर्थिक वर्षमा नौबिसे–मुग्लिन सडक खण्डमा १५ करोड ५२ लाख ५१ हजार ४६ रुपियाँ, हेटौँडा–नारायणगढ सडक खण्डमा नौ करोड तीन लाख ७७ हजार १५० रुपियाँ, नारायणगढ–बुटवल सडक खण्डमा चार करोड ६७ लाख, भैरहवा–भुहमी सडकखण्डमा ७४ लाख ३४ हजार चार सय रुपियाँ सङ्कलन भएको थियो ।

त्यसैगरी खुर्कोट–सिन्धुली–बर्दिबास सडकखण्डमा दुई करोड १५ लाख ६१ हजार ८०३, धुलिखेल–खुर्कोट–सिन्धुली सडकखण्डमा दुई करोड ७४ लाख ५० हजार ८७५ र पाँचखाल–मेलम्ची सडक खण्डमा ५२ लाख ९८ हजार ४४५ रुपियाँ सङ्कलन भएको थियो । आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari