stcnepal long ad
ime life insurance
global ime bank long

अध्यागमनका कर्मचारीले बेचे भिसा, अख्तियारमा पुग्यो फाइल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अध्यागमन विभागका अधिकृत रामचन्द्र काफ्ले प्रवेशाज्ञा (भिसा) बिक्रीमा मुछिएका छन्। काफ्लेले पदको दुरुपयोग गरी ३ जना चिनियाँ नागरिकलाई अनधिकृत तवरले भिसा जारी गरेको पाइएको हो। उनले कति रकममा भिसा बेचे भन्ने अनुसन्धानकै क्रममा छ।

विभागको स्टोर शाखामा रहेका भिसा स्टिकर उनले गोप्य ढंगले निकालेका थिए। त्यसपछि बिचौलियाको सहयोगमा ती चिनियाँलाई रिलेसन (नातेदार) भिसा जारी गरेको खुलेको छ।

तर, उक्त भिसाका लागि न आवश्यक कागजपत्र पेस भएको छ न त भिसा जारी गरेको रेकर्ड विभागसँग छ। केही थान भिसा स्टिकर अनधिकृत ढंगले बाहिरिएको रेकर्ड भने अध्यागमनसँग छ। त्यसकै आधारमा विभागले काफ्लेमाथि छानबिन थालेको हो।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ। ती चिनियाँको कुनै पनि कागपत्र अध्यागमनमा छैन।

मूलतः त्यही कागजपत्रका आधारमा विभागको गैरपर्यटकीय शाखाले रिलेसन भिसा दिनेरनदिने निर्णय गर्छ। काफ्लेले चिनियाँसँग भिसाको कारोबार कार्यालय बाहिर गरेको देखिएको छ। उनले त्यसको सुइँको समेत अध्यागमनका अन्य कर्मचारीलाई दिएनन्।

विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। ‘जो कोही भए पनि दोषीले उन्मुक्ति पाउँदैन। कारबाही गर्छु’, महानिर्देशक केसीले भने।

काफ्लेले अर्कै शाखामा कार्यरत रहेका बेला अनधिकृत ढंगले गैरपर्यटकीय शाखालाई चाहिने भिसा निकालेका थिए। उनको चिनियाँ कनेक्सन पेचिलो अनुसन्धानको विषय बनेको छ।

निजामती सेवाबाट अवकाश पाउन लागेका काफ्लेको ‘कर्तुत’का आधारमा विगतमा भएका सबै शंकास्पद गतिविधिको अनुसन्धान गर्न विभागलाई सहज बनेको छ।

भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ। त्यसबेला काफ्लेलाई नै स्टोर शाखा प्रमुख तोकिएको थियो।

कार्कीले भिसा दिन आनाकानी गरे पनि अधिकृत तहका काफ्लेले लिई छाडेको पाइएको छ। तर, काफ्लेले ती भिसा के गर्छन् भनेर कार्की अनभिज्ञ थिए।

कार्कीले भिसा स्टिकरका लागि माग फारम भर्नुपर्ने भनेका थिए। तर, काफ्लेले माग फारममा केरमेट गरेका छन्। उनीहरू दुवै जनाले अध्यागमनका अधिकारीसमक्ष गल्ती स्वीकार गरेका छन्।

विभागले उनीहरूसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। स्रोतका अनुसार उनीहरूको फाइल मंगलबार अख्तियार पठाइएको हो।

चिनियाँ नागरिकको भिसा नवीकरण गर्ने क्रममा काफ्लेले गरेको ‘कैफियत’ खुलेको जनाइएको छ। ती चिनियाँ भिसा नवीकरण गर्न केही दिनअघि विभागमा पुगेका थिए।

उनीहरूको राहदानीमा २०७५ चैतमा भिसा जारी भएको देखिएको छ। गैर पर्यटकीय (नन्टुरिस्ट) शाखाका कर्मचारीले उनीहरूको भिसामा ‘कैफियत’ पत्ता लगाएका थिए।

ती कर्मचारीले लगत्तै महानिर्देशक केसीलाई रिपोर्टिङ गरेका थिए। महानिर्देशक केसीले घटनाबारे तत्काल गृहसचिव महेश्वर न्यौपानेलाई जानकारी गराएका थिए।

तीनै जना चिनियाँको राहदानी विभागले नियन्त्रणमा लिएको छ। कार्यालय बाहिर अनधिकृत ढंगले भिसा लिएको अभियोगमा उनीहरूलाई पनि कारबाही हुन सक्ने विभागका एक अधिकारीले बताएका छन्।

विभागको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका बेला काफ्लेले अनधिकृत ढंगले भिसा दिएको खुलासा भएको हो। उनी हाल रसुवागढीस्थित अध्यागमन नाका प्रमुख छन्।  विभागले उनलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको जिम्मेवारी समेत दिएको थियो। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

prabhu mahalaxmi
kumari