नेपाली साहित्यका आदिकवि भानुभक्तको २०८ औं जन्मजयन्ती मनाइँदै
काठमाडौंं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज मनाइँदै छ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’ का कारण भानुभक्तको नेपाली साहित्यमा योगदान छ । अहिले पनि घर–घरमा रामायण पढ्ने गरिन्छ ।
वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ ।
‘बधुशिक्षा’ उहाँको अर्को कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान रहेको छ।
आज बिहान काठमाडौंंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ ।
कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण भौतिक दूरी तथा स्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम हुनेछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको वि.सं १९२५ असोजमा निधन भएको थियो ।