कर तिर्ने व्यवस्था लकडाउन खुलेको ३ महिनामा मिलाउनुस्- नेपाल चेम्बर
आर्थिक सञ्जाल
काठमाडौं । लकडाउन समाप्त भएको ३ महिनामा कर तिर्ने व्यवस्था मिलाउन नेपाल चेम्बर अफ कमर्सले सरकार समक्ष माग गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागले मंगलबार जारी गरेको सूचनाप्रति ध्यानाकर्षण गर्दै चेम्बरले उक्त माग गरेको हो ।
उक्त राजस्व विभागले गत फागुन, चैत र बैशाखको आयकार, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क यही जेठ २५ गतेभित्र तिर्नुपर्ने भन्दै मंगलबार सूचना प्रकाशित गरेको थियो ।
यसमा ध्यानाकर्षण गर्दै चेम्बरले भन्यो- ‘यस परिस्थितिमा लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर विवरण एवम रकम बुझाउने व्यवस्थाका लागि चेम्बरले मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ ।’
साथै, बिद्यमान सूचना खारेज गरी व्यवसायीको माग बमोजिम नयाँ सूचना जारी गर्न समेत चेम्बरले अनुरोध गरेको छ ।
‘कोभिड-१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ ।
तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।’
‘आ.ब.२०७७/७८को प्रस्तुत बजेट सम्बाेधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाई स्वीकार गरि सकेको अवस्था पनि छ ।
यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर,मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको छ विज्ञप्तिमा भनिएकाे छ ।
साथै, चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतिका साथ लकडाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्न अनुरोध गरेको छ ।