नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
आर्थिक सञ्जाल
सुर्खेत । नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृतकको संख्या ७ पुगेको हो ।
१० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।
दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बताए । बिहीबार ती व्यक्तिको स्वाबको नमुना निकालेर परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।कोरोना संक्रमितको शब दुल्लुस्थित क्वारेन्टाइनमै छ ।
उनले रिपोर्ट पोजेटिभ आएसँगै शव व्यवस्थापनको लागि प्रक्रिया सुरु गरिसकेका बताए ।