स्वास्थ्य मन्त्रालयका सचिव मन्त्रिपरिषद कार्यालयमा तानिए

आर्थिक सञ्जाल
काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाकाे सरुवा गरेको छ । कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर उनकाे सट्टामा लक्ष्मण अर्याललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवकाे रूपमा पठाइएको छ ।
स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयमा मन्त्री र सचिवबीच तालमेल निमलेकाे लगायत कारणले नियुक्ति पाएकाे तीन महिना नबित्दै स्वास्थ्य सचिव काेइरालाकाे सरुवा गरिएकाे हाे । उनी गत फागुन १८ मा बसेको मन्त्रिपरिषद बैठककाे निर्णय अनुसार स्वास्थ्य सचिवमा सरुवा भएर मन्त्रालय पुगेका थिए ।
स्वास्थ्य मन्त्रालयमा आएदेखि नै उनले डाक्टरहरुमाथि अपमान गरेकाे र शक्तिकाे दुरूपयाेग गर्न खाेजेकाे आरोप लाग्दै विवादमा परेका थिए । नयाँ स्वास्थ्य सचिवकाे रुपमा सरुवा गरिएका अर्याल भने यस अघि मन्त्रिपरिषद कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए ।