आर्थिक सञ्जाल
काठमाडौं । डेरी उद्योगीहरुले दुग्ध जन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनु पर्ने माग गरेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा असर परेको भन्दै राहत स्वरुप भ्याटमा छुट दिनुपर्ने माग गरेका हुन् ।
नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारले पहिला दिदै आएको ५० प्रतिशत भ्याट छुट फेरी दिनुपर्ने बताए ।लकडाउनका कारण दुध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दुध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवस्यकता रहेको उद्योगीको भनाइ छ ।
सरकारले व्यवसायी र किसान दुवै पक्षलाई राहत नदिए लकडाउनपछि व्यवसाय बन्द गर्नुको विकल्प नभएको उद्योगीको भनाइ छ । देशभर दैनिक ६२ लाख दुध उत्पादन हुन्छ ।
पछिल्लो समय लकडाउन भएपछि करिब ८० प्रतिशत दुधको बजार बन्द भएको छ । जसका कारण डेरीसँग भएको करिब ५ अर्ब रुपैयाँ बराबरको दुधको स्टक विक्री हुन सकेको छैन् । यस्तै दुध संकलन हुन नसक्दा ३ अर्ब रुपैयाँ बढीको नोक्सानी भएको छ ।