stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एउटै गाउँपालिकामा ११३ सङ्क्रमित, नरैनापुरमा स्थानीयको लापार्वाहीले सङ्क्रमण बढ्दो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

 

 

 

 

बाँके । नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा पठाइएको नमूनाको परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा आज कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नरैनापुरको मदरसा क्वारेन्टिनमा रहेका ६, नरैनापुर–३ को नेराप्रावि क्वारेन्टिनमा बसेका १५ र नरैनापुर–१ को नेराप्रावि क्वारेन्टिनमा बसेका ६ गरी २७ जनामा आज कोरोना पुष्टि भएको छ । यससहित नरैनापुरमा मात्रै ११३ जनामा कोरोना देखिएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतीय सीमासँग जोडिएको नरैनापुरमा पहिलो पटक भारतबाट आएका आठ जनामा यही जेठ २ गते कोरोना सङ्क्रमण देखिएको नरैनापुरमा एक हप्ताभित्र एक जनाको ज्यान जाने गरी सङ्क्रमितको सङ्ख्या ८७ पुगेको थियो । आज १७ जना थप भएको छ ।

ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि जेठ ५ गतेदेखि नरैनापुर गाउँपालिकालाई पूर्णरुपमा सिल गरी सतर्कता अपनाइएको छ तर सङ्क्रमण रोकिएको छैन । यससँगै जिल्लामा १४२ जनामा कोरोना संक्रमण भएको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

नरैनापुरमा लापार्वाहीले सङ्क्रमण बढ्दो

नरैनापुरमा स्थानीयवासीको लापर्वाहीले कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितलाई आइसोलेशन अस्पताल ल्याउनमा रोक लगाउँदा तथा क्वारेन्टिनमा अनावश्यक रुपमा हुलहुज्जत गर्दा समुदायस्तरमै कोरोना सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ ।

कोरोना भाइरससम्बन्धी समुदायस्तरमा गलत बुझाइ र पछिल्लो समयमा सङ्क्रमित आइसोलेशनमा बस्न अटेरी गर्दा सङ्क्रमणको जोखिम झन् बढ्दो छ ।

नरैनापुरका सङ्क्रमितको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेशनमा ल्याउन समस्या हुने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार पुष्टि भएका नरैनापुर ३ का सङ्क्रमितले आइसोलेशन कक्षमा आउन नमान्दा शुक्रबार राति १२ बजे १२ जनालाई लिइएको छ भने क्वारेन्टिनबाटै फरार एक जनालाई आज मात्रै फेला पारेर ल्याउन सकिएको छ ।

स्वास्थ्य र सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा नरैनापुरका सङ्क्रमित र स्थानीयवासीले सहयोग नगरेको उहाँको भनाइ छ ।

नरैनापुरमा मात्रै शनिबार ८७ जना सङ्क्रमित पुगेका छन् । नरैनापुरका बासिन्दा तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव शिक्षा, स्वास्थ्य र सचेतनाको कमीका कारण नरैनापुरमा कोरोना सङ्क्रमण बढ्दै गएको बताउनुहुन्छ ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहाद्र वलीले स्थानीयवासी र अन्य सरोकार पक्षले असहयोग गर्दा नरैनापुरबाट सङ्क्रमितलाई ल्याउन पटकपटक कठिन परिस्थिति आउने गरे पनि आफूहरुले धैर्यपूर्वक काम गरिरहेको बताउनुभयो । बाँकेमा सङ्क्रमितको सङ्ख्या ११६ पुगेको छ ।

सङ्क्रमितलाई तीन ठाउँमा व्यवस्थापन बाँकेमा एकैपटक ठूलो सङ्ख्यामा देखिएका कोरोना सङ्क्रमितलाई जिल्लाका तीन स्थानमा व्यवस्थापन गरिएको छ ।

संक्रमितलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा मात्र आइसोलेशन अस्पताल रहेकाले नेपालगञ्जको लायन्स डेण्टल अस्पताल र कोहलपुरको पिपरीस्थित कृषि विकास तालिम केन्द्रमा थप दुई आइसोलेशन केन्द्र तयार गरी सङ्क्रमितको व्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।- (रासस)

kumari bank
kumari
nawakantipur long