stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो ।

अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।

यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।

अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपियाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् ।

घरायसी बचतबाट उपचार गर्ने २७.२, व्यापार गरेर क्यान्सर उपचार गर्ने २२.३, दैनिक ज्याला मजदुरीबाट क्यान्सर उपचार गर्ने ११.७, सरकारी सेवामा कार्यरत ८.७ र वैदेशिक रोजगारीमा सहभागी ८.७ प्रतिशतले क्यान्सर रोगको उपचार गरिरहेका छन् ।

६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको पाइयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरका कारण बिरामी तथा बिरामीको आफन्तको गुमेको आय अध्ययनमा समेटिएको बताउनुभयो ।

उहाँले बिमा सुविधाले क्यान्सरको उपचार खर्च नसमेटेको हुनाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार सरकारले क्यान्सरको उपचारका लागि एक लाख रुपियाँ अनुदान दिने व्यवस्था गरे पनि उक्त खर्च मेडिकल खर्चको एक चौथाइभन्दा पनि कम रहेको बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सुर्तीजन्य पदार्थमा लाग्ने करको दर कम्तीमा ७५ प्रतिशत हुनुपर्ने भनी सिफारिस गरे पनि नेपालमा सोहीअनुसार करको दायरा बढ्न सकेको छैन ।

अनुसन्धानमा सहभागी सदस्य भरतविक्रम शाहले अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगले हुने क्यान्सर रोगका बिरामीको औसत उमेर ५३.५ वर्ष रहेको देखाएको जानकारी दिनुभयो । उहाँले एक चौथाइ सुर्तीजन्य पदार्थको प्रयोगबाट भएको क्यान्सर बिरामी ५५ देखि ५९ उमेर समूहअन्तर्गत रहेको जानकारी दिनुभयो ।

अध्ययनअनुसार झन्डै ४६ प्रतिशत बिरामी निरक्षर पाइएको थियो । १।९ प्रतिशत बिरामी उच्च शिक्षा हासिल गरेका थिए । निरक्षर व्यक्तिमा सुर्तीजन्य पदार्थको प्रयोगले गर्दा हुने क्यान्सर बढी भएको पाइएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

IME Lifesidebar
kumari