काठमाडौंमा लक डाउन थप कडा, सडक र भित्री गल्लीमा समेत भीडभाड नगर्न निर्देशन
आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार
काठमाडौं । काठमाडौंमा लक डाउन थप कडा बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै लक डाउनमा थप कडाई गरिने जनाएको हो ।
काठमाडौं कोरोना जोखिमयुक्त देखिएपछि गृहको निर्देशन र जिल्ला सुरक्षा समितिको बैठकले लक डाउनमा कडाई गरिने निर्णय गरेको हो । प्रशासनले जारी गरेको सूचना अनुसार एम्बुलेन्स, शव वाहन, औषधीजन्य सामाग्री, फोहोरका गाडी, फलफूल, तरकारी तथा खाद्यान्न बोक्ने सवारी साधनलाई भने बिना पास आवतजावत गर्न दिइने छ ।
त्यस्तै, काठमाडौंका भित्री गल्लीदेखि विभिन्न सडकहरुमा समेत मान्छेहरुको भीडभाड नगर्न पनि प्रशासनले आग्रह गरेको छ । त्यससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएका पहँलो र सेता रंगका सबै पास रद्द गरिएको पनि उल्लेख गरिएको छ । निर्माण सामाग्री बोक्ने सवारी साधनलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म चल्न दिइने भएको छ ।



























