stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिकित्सक सङ्घको अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल चिकित्सक सङ्घको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा तीन जनाको चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुई चिकित्सकले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ भने एक चिकित्सकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ।

प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की र पेसागत समावेशी समूहबाट अध्यक्षमा डा। सन्तोष पौडेलको उम्मेदवारी परेको छ। डा. कार्की क्यान्सर रोग विशेषज्ञ हुनुहुन्छ भने डा. पौडेल हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ। यस्तै मुटुरोग विशेषज्ञ डा. शिवजीविक्रम सिलवालले स्वतन्त्र रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ।

प्रजातान्त्रिक समूहको नेतृत्व गर्नुभएका डा. अनिलविक्रम कार्कीले चिकित्सक पेसालाई सुधार गर्ने १७ बुँदे घोषणापत्र सार्वजनिक गर्दै चुनावी मैदानमा उत्रिनुभएको छ।

माघमा हुने सङ्घको निर्वाचनका लागि डा. कार्कीको समूहले चिकित्सकका लागि छुट्टै अस्पतालको व्यवस्था गर्ने, स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति छुट्टै ‘स्वास्थ्य सुरक्षा बल’ बनाउन पहल गर्नेलगायतका चुनावी मुद्दा अघि सार्नुभएको छ।

पेसागत समावेशी समूहको नेतृत्व गर्नुभएका डा. सन्तोष पौडेलले सात बुँदे अवधारणापत्र सार्वजनिक गर्नुभएको छ। उहाँले ‘सुरक्षित पेसा खुसी चिकित्सक’ नारा अघि सारेर अवधारणापत्र सार्वजनिक गर्नुभएको हो।

‘पढाइमा सधैँ अब्बल कमाइमा कहिले हुने सबल’ भन्ने अर्को एजेन्डा प्रस्तुत गर्दै पेसागत समावेशी समूहका अध्यक्ष प्रत्याशी डा. सन्तोष पौडेलले ‘सबै डाक्टर एक पटक सरकारी डाक्टर’लगायतका नारा अघि सार्नुभएको छ।

पेसागत समावेशी समूहबाट अध्यक्षमा डा. पौडेलसहित उपाध्यक्षमा मधेश प्रदेशबाट डा। महेश महासेठ, बागमतीबाट डा. सञ्जय ठाकुर, गण्डकीबाट डा. विकास गौचन र सुदूरपश्चिमबट डा. निरज अर्याल हुनुहुन्छ।

उक्त समूहबाट महासचिव पदमा डा. रक्षा श्रेष्ठको उम्मेदवारी परेको छ। सदस्यमा डा. अभियान गौतम, डा. रामकृष्ण आचार्य, डा. पदम नेपाली, डा. रमेश श्रेष्ठ, डा. स्मृति महत र डा. सुरेन्द्र यादव हुनुहुन्छ।

यस्तै प्रजातान्त्रिक समूहबाट अध्यक्षमा डा. कार्कीसहित उपाध्यक्षमा मधेश प्रदेशबाट डा. निरजकुमार सिंह, बागमतीबाट डा. प्रकाश बुढाथोकी, गण्डकीबाट डा. रिजन श्रेष्ठ र सुदूरपश्चिमबाट प्रशान्त भट्ट हुनुहुन्छ।

त्यसैगरी महासचिवमा डा. सचिव तिवारी, सदस्यमा डा. अमृतरञ्जन मिश्र, डा. सिर्जना विष्ट, डा. किशोर खत्री, डा. योञ्जनकुमार झालगायत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह–सचिवमा डा। लिर्जन महर्जन र सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ।

प्रदेश १ बाट उपाध्यक्षमा डा. विपेश आचार्य, लुम्बिनी प्रदेशबाट डा. नन्दकुमारी गुरुङ, कर्णाली प्रदेशबाट डा. किशोरबहादुर ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ।

स्वतन्त्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका डा. शिवजीविक्रम सिलवालले आफ्नो एजेन्डा सार्वजनिक गर्न बाँकी रहेको बताउनुभयो।

नेपाल चिकित्सक सङ्घको २९औँ केन्द्रीय कार्यकारिणी समितिमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सह–कोषाध्यक्षमा एक र छ जना सदस्य गरी १९ जना रहने व्यवस्था छ।

सङ्घको चुनाव काठमाडौँ उपत्यकाबाहिर माघ ६ र ७ गते तथा उपत्यकाभित्र माघ १९, २० र २१ गते सम्पन्न हुँदै छ।

IME Lifesidebar
kumari